
काठमाडौं — यसै वर्षको आरम्भमा उत्तरपश्चिमी शहर मन्नारमा भेटिएको सामूहिक चिहान देशभरिकै सबभन्दा ठूलो चिहान भएको श्रीलंकाली विज्ञहरूले बताएका छन् ।
पहिलेको युद्धभूमिमा चिहानमा अहिलेसम्म २३० भन्दा बढी कंकालहरू भेटिएका छन् ।
मानवअधिकार समूहहरूले कम्तीमा २० हजारजना श्रीलंकाको लामो गृहयुद्धमा हराएको बताएका छन् । युद्ध सन् २००९ मा सकिएको हो ।
सरकारी सेना र पृथकतावादी तमिल विद्रोहीहरूबीच २६ वर्ष चलेको युद्धमा कम्तीमा एक लाखजना मारिएका थिए ।
एक अदालतले उक्त स्थानमा विस्तृत उत्खननको आदेश दिएको थियो । प्रमुख बस स्टेसननजिक एक पूर्व कोअपरेटिभ डिपोमा एक नयाँ भवनको जग खन्दै गर्दा कामदारहरूले मानव अवशेष फेला पारेपछि बृहत् उत्खननको आदेश आएको हो ।
यी पीडितहरू को हुन् वा कसरी मरे भन्ने विषय स्पष्ट छैन ।
‘हामीले अहिलेसम्म २३० भन्दा बढी कंकाल उत्खनन गरिसकेका छौं,’ कोलम्बोनजिक केलानिया विश्वविद्यालयका फरेन्सिक आर्कियालोजिस्ट प्राध्यापक राज सोमदेवले बताए । उनी यो उत्खनन टोलीका नेता हुन् । ‘मेरो अनुभवमा यो
अहिलेसम्म उत्खनन गरिएको सबभन्दा ठूलो सामूहिक चिहान हो ।’
मानव अवशेषबाहेक पुरातत्त्वविद्हरूले माटोको भाँडो, सेरामिक र धातुका वस्तुहरू अनि पीडितहरूले लगाएका केही गहना पनि फेला पारेको उनले बताए ।
मन्नार शहरमा अल्पसंख्यक तमिलहरू अत्यधिक छन् र सामुदायिक नेताहरूले उक्त क्षेत्रमा सयौं मानिस दशकौं चलेको हिंसामा बेपत्ता भएको बताए ।
मन्नार शहर गृहयुद्धका बेलामा सेनाको नियन्त्रणमा रह्यो । तमिल टाइगर विद्रोहीहरूले यसवरपरका क्षेत्रमा कब्जा गरेका थिए । तर भयानक लडाईंपछि सेनाले पूरै जिल्लालाई नियन्त्रणमा लिएको हो ।
बीबीसीबाट