
कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका र नेपालका लागि इजरायली राजदूतावासबीच आपसी द्विपक्षीय सहयोग आदानप्रदानसम्बन्धी बुधबार छलफल भएकोे छ । नगरपालिका कार्यालयमा नगरप्रमुख सुरेन्द्र विष्ट र दूतावासका उपप्रमुख ताल सवरतसुमनबीच सहयोग आदानप्रदान र आपसीहितका बारेमा छलफल भएको हो ।
बैठकमा दूतावासका उपप्रमुख सवरतुमनले सन् २०१९ सम्म भीमदत्त नगरपालिकासित सम्बन्ध विस्तार गरिने प्रतिबद्धता जनाउनुभयो । पश्चिमी सिमानाका गड्डाचौकी भएर नेपाल आउने इजरायली पर्यटकको सुरक्षा, कृषि क्षेत्र र नगरको विकासमा सहयोग गर्ने उहाँले जानकारी दिनुभयो । नगरप्रमुख विष्टले नगरपालिकाको पर्यटन क्षेत्र प्रवद्र्धनमा सहयोग गर्न आग्रह गर्नुभयो ।