
काठमाडौं –विश्वभरका कम्युनिस्ट तथा श्रमिक पार्टीहरूको २०औं अन्तर्राष्ट्रिय बैठक ग्रिसको राजधानी एथेन्समा शुक्रवारबाट शुरू हुँदैछ ।
उक्त बैठकमा ७३ मुलुकका ९१ पार्टीले भाग लिनेछन् । बैठकको पूर्वसन्ध्यामा १९ सदस्यीय कार्यकारी समूहको बैठक बिहीवार बसेको थियो । कार्यकारी समूहमा नेपाल कम्युनिस्ट (पार्टी) पनि सदस्य छ ।
बैठकमा सहभागी हुन आउनेहरूले नेपाल कम्युनिस्ट पार्टीले प्राप्त गरेको सफलता र एकताप्रति चासो राखेको बैठकमा सहभागी नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।

'नेपाल कम्युनिस्ट पार्टीले नेपालमा हासिल गरेको सफलता र पार्टी एकताप्रति विश्वभरका कमरेडहरूमा गहिरो चासो र जिज्ञासाहरू छन् । हामीलाई बैठकमै, बैठकको बीचमा र होटलमा भेटेर जिज्ञासा राख्ने र शुभकामना दिनेहरूको संख्या ठूलो छ,' रिजालले फेसबुकमा लेखेका छन् ।