काठमाडौँ, २० फागुन- साढे ३३ किलो सुनको मुख्य मालिक गुप्तलाल (रोशन) भुसाल र हरि खड्का भएको सिआइबीले जनाएको छ, आजको नयाँ पत्रिकामा खबर छ । दुवैजना हाल दुबईमा छन् ।

सुन बरामद भएको भोलिपल्टै भुसाल दुबई गएका थिए । खड्का दुबईस्थित याक एन्ड यती नेपाली रेस्टुरेन्ट तथा याक एन्ड यती सुनपसलका मालिक हुन् । दुबईको सो सुनपसलका अन्य सञ्चालक पनि तस्करीमा संलग्न हरेको स्रोत बताउँछ ।
तस्करीमा लगानी गर्ने चूडामणि उप्रेती (गोरे), रामकिशन अग्रवाल (काले) र अर्जुन खरेलको समेत संलग्नता देखिएको प्रहरीले जनाएको छ । लगानीकर्ताले सुन ओसारपसारमा आफन्तलाई नै प्रयोग गर्दै आएका थिए । हरि खड्काका भाइ राजकुमार खड्का र अर्जुन खरेलका भाइ प्रकाश खरेल फरार छन् । लाजिम्पाट उत्तरढोकास्थित दरबार रोधीघरमार्फत तस्करीको सुन विभिन्न पसलमा जाने गरेको प्रहरीले पत्ता लगाएको छ ।