
काठमाडौं – उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ र चिनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका साथै उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो ।
भेटमा मन्त्री पुनले नेपालमा ५ वर्षको लागि स्थायी सरकार भएको भन्दै अहिले देशको मुख्य प्राथमिकता भनेकै विकास र समृद्धि भएको धारणा राखेका थिए ।
नेपालका लागि चिनियाँ राजदूतको कार्यकाल सकेर चीन फर्कने तयारीमा रहेकी चिनियाँ राजदूतले मन्त्री पुनसँग बिदाई भेट गरेकी हुन् । भेटवार्ताका क्रममा उर्जामन्त्री पुनले राजदूत होङको कार्यकालमा २ देशबीच मैत्रीपूर्ण सम्बन्ध निकै सुदृढ भएको धारणा राखे । उनले आगामी दिनमा समेत २ मुलुकको सम्बन्ध अझै प्रगाढ वन्ने विश्वास व्यक्त गरे ।
मन्त्री पुनले विगत केही वर्षयता नेपालको जलविद्युत् क्षेत्रका साथै अन्य क्षेत्रमा बढेको चिनियाँ लगानी नेपालको आर्थीक विकासका लागि निकै फलदायी हुने बताए ।
उनले राजदूत होङको कार्यकालमा उच्चस्तरीय भ्रमण आदान–प्रदान भएको, उर्जा क्षेत्रमा इनर्जी को–अपरेसनमा हस्ताक्षर हुनुका साथै चीनबाट लगानी भित्र्याउन गरेको प्रयत्नप्रति नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गरे ।
‘नेपालको आर्थिक विकासमा चीन सरकार र यहाँले गरेको प्रयत्न र पहलप्रति हामी आभारी छौं, आगामी दिनमा पनि २ देशको सम्बन्ध र सहकार्य अझ नयाँ उचाईमा पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौं,’ उर्जामन्त्री पुनले राजदूतसँगको भेटमा भने ।
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य समेत रहेका उर्जामन्त्री पुनले ४ सय केभी क्षमताको गल्छी–केरुङ अन्तर्देशीय प्रशारण लाइन नेपालको उच्च प्राथमिकतामा रहेको धारणा राखेका थिए ।
भेटमा परियोजनालाई अघि बढाउनेबारे छलफल भएको उर्जामन्त्रीका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए । मन्त्री पुनले नेपाल र चीनबीच केही समयअघि मात्र हस्ताक्षर भएको ट्रेड एण्ड ट्रान्जिट प्रोटोकल नेपालको स्वाधीनताको लागि ऐतिहासिक समझदारी भएको धारणा राखे ।
उनले यसअघि नै नेपाल–चीनबीच उर्जा संयन्त्रको पहिलो बैठक सफलतापूर्वक सम्पन्न भएको भन्दै बेइजिङमा छिट्टै दोस्रो बैठक बस्ने खबर आफूले पाएको बताए । भेटमा चिनियाँ राजदूत होङले उर्जा क्षेत्र दुवै मुलुकको लागि सबैभन्दा महत्त्वपूर्ण क्षेत्र भएको भन्दै उर्जामन्त्रीको रुपमा यो क्षेत्रलाई अघि बढाउन खेलेको भूमिकाको उनले प्रसंसा समेत गरेकी थिइन् ।
राजदूत होङले उर्जा संयन्त्रको अर्को बैठक बेइजिङमा छिट्टै बस्ने र त्यसमा २ देशको बीचमा उर्जा क्षेत्रमा गर्न सकिने थप सहकार्यबारे घनिभूत छलफल हुने जानकारी समेत दिइन् । नेपालमा पछिल्लो ३ वर्षमा चिनियाँ लगानी ६ सय ८० प्रतिशतले वृद्धि भएको भन्दै उनले चीन प्रत्यक्ष लगानीतर्फ नेपालमा १ नम्बरमा रहेको जानकारी समेत दिइन् ।
‘पछिल्लो समय चिनियाँ लगानीकर्ताहरू नेपालमा लगानी गर्न आकर्षित हुनुभएको छ, आगामी दिनमा समेत यो प्रक्रिया निरन्तर जारी रहने छ,’ राजदूत होङले भेटमा भनिन् ।
राजदूत होङले बिदाई भेटमा नेपाल स्थिरता र विकासको बाटोमा अघि बढेकोमा खुसी व्यक्त गरेकी थिइन् ।