
काठमाडौं– वाइडबडी विमान खरिदमा अनियमितता भएको आशंका गर्दै संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले संस्कृत, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसँग कागजात माग गरेको छ । समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीलाई शुक्रबार समितिमा बोलाएर कागजात माग गरेको हो ।
वाइडबडी विमानको स्वामित्व स्पष्ट नभएको भन्दै समितिका सांसदहरुले प्रमाण पेश गर्न माग गरे । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद भीमबहादुर रावलले वाइडबडी विमान खरिद गरेर ल्याएको वा भाडामा ल्याएको स्पष्ट नभएकोले त्यसको प्रमाण समितिमा पेश गर्नुपर्ने बताए । उनले मुलुकमा कर तिर्दा समेत भौचर पाइने तर, यति ठुलो रकम खर्च गरेर ल्याएको विमानको सम्बन्धमा स्पष्ट जवाफ आउनु अचम्म भएको बताए ।
त्यस्तै कांग्रेस सांसद सुजाता कोइरालाले वाइडबडी विमान खरिदका अनियमितता भएको भन्दै छानबिन हुनुपर्ने बताइन् । नेकपाकै सांसद अग्नी सापकोटाले पनि वाइडबडी विमान खरिद प्रकरणको छानबिन हुनुपर्ने बताए ।
त्यसक्रममा मन्त्री अधिकारीले वाइडबडी विमान खरिदको कागजपत्र २४ घण्टा भित्र समितिमा पेश गर्ने प्रतिवद्धता व्यक्त गरे । विमान खरिदको नैतिक जिम्मेवारी लिने भन्दै मन्त्री अधिकारीले विमान खरिद गर्दा सम्पूर्ण प्रक्रिया मिलेको दावी गरे ।
सबैको चासो हुने विषयमा समितिमा छलफल हुनु साकारात्मक रहेको भन्दै छानविनमा आफ्नो मन्त्रालयले सघाउने समेत मन्त्री अधिकारीले बताए ।
समितिमा बोलाइएका नेपाल वायु सेवा निगमका महानिर्देश्क सुगतरत्न कंसाकारले वाइडबडी विमान खरिदमा अनियमितता नभएको दावी गरे । वाइडबडी विमान खरिदमा अनियमितता भएको आशंका धेरैले गरेको भन्दै कंसाकारले समितिमा आक्रोस समेत पोखे ।