२९ जेठ २०८३, शुक्रबार

मुख्यमन्त्री राईसँग राजदूत र दातृ निकायका प्रतिनिधिको छलफल

मुख्यमन्त्री राईसँग राजदूत र दातृ निकायका प्रतिनिधिको छलफल

विराटनगर – १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत र विदेशी दातृ निकायका प्रतिनिधिले छलफल गरेका छन् ।

शुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत एलिजावेथ भान क्यापलर, डीएफआइडीका नेपाल प्रमुख रुरिक मार्सदेन र विश्व बैंकका प्रतिनिधि जर्ज लार्बीको सहभागिता थियो ।

छलफलका क्रममा टोलीले प्रदेश सरकारका प्राथमिकता, सहयोगको क्षेत्र, समस्या र चुनौतीबारे जिज्ञासा राखेको थियो । छलफलका क्रममा मुख्यमन्त्री राईले प्रदेश सरकारले अगाडि सारेका योजना लगायतबारे बताएका थिए । उनले प्रदेश सरकारले कानून निर्माणलाई तीब्रता दिएको र आवधिक योजना निर्माणलाई प्राथमिकता दिएको सुनाए ।

संविधानमा उल्लेख भएको अधिकार प्रदेश सरकारले प्रयोग गर्दै अगाडि बढिरहेको मुख्यन्त्री राईले बताए । छलफलका क्रममा मुख्यमन्त्री राईले प्रदेशको विशेषता, सम्भावनाबारे अवगत गराएका थिए । राजदूत क्यापलरले नेपालले हासिल गरेको उपलब्धी संसारका लागि उदाहरणीय भएको बताए । छलफलबाट प्रदेशको भूमिका बुझ्न राम्रो अवसर मिलेको उनको भनाई थियो । 

विश्व बैंकका प्रतिनिधि लारर्बीले प्रदेश सरकारसँग सहकार्य गर्न आतुर रहेको बताए । ‘संघीय सरकारको अनुमतिमा अहिले हामी सबै प्रदेश सरकारसँग छलफल गरिरहेका छौं,’ उनले भने, ‘प्रशासनिक र संरचनागत हिसाबले हामी सहयोग गर्छाै ।’

डीएफआईडीका नेपाल प्रमुख मार्सदेनल भने, ‘नेपाल नयाँ संरचनामा गएसँगै प्रदेश र स्थानीय तहसँग कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे छलफलमा छौं ।’ प्रदेश सरकारका प्राथमिकता तथा समस्या हेरेर काम गर्न सकिनेमा उनले जोड दिए। 

छलफल संघीयता कार्यान्वयनका लागि नेपाल सरकार र दातृ निकायले संयुक्त रुपमा शुरूवात गरेको क्षमता विश्लेषणमा केन्द्रीत थियो । टोलीले यसअघि ५ वटा प्रदेशमा यस्तै छलफल गरिसकेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्