
काठमाडौँ– सरकारी प्रतिनिधि, गैरसरकारी संस्थामा कार्यरत, अभिनेत्री, पत्रकारलगायतले महिला आफैँले आफ्नो पीडा खोलेर नभनेसम्म हिंसाको अन्त्य सम्भव नभएको बताएका छन् ।
मिडिया एडभोकेसी समूह र सम्झौता नेपालले शुक्रवार ललितपुरकाे पुल्चोकमा आयोजना गरेको ‘म बोल्छु’ कार्यक्रमका वक्ताले मौनताको अन्त्य गर्न आम महिलालाई सुझाएका हुन् ।
राष्ट्रिय योजना आयोगका सदस्य उषा झाले स्थानीय तहमा रहेका महिलालाई परिवार र समाजको दोहोरो प्रश्न गरिरहेको बताइन् । उनले भनिन्, “एकातिर परिवारका सदस्यले जितेर के ग¥यौँ भन्दै सोध्ने त एकातिर समाजले प्रश्न गर्दा उनीहरु हैरान छन् ।”
प्रतिनिधिसभा सदस्य बिमला बिकले राजनीतिमा लागेका महिलाले समान अवसर नपाएको गुनासो गरिन् । ''महिला, दलितलगायतले चाहेर पनि प्रत्यक्ष निर्वाचनमा लड्न पार्टीबाट टिकट पाउँदैनन्,'' उनले भनिन्, “ठूला नेताले हामी चाहेर पनि समानुपातिक पाउँदैनौँ त्यसैले आरक्षण तिमीहरुकै लागि हो भन्ने गरेका छन् ।”
नयाँ शक्ति पार्टीकी नेत्री करिश्मा मानन्धरले सबै क्षेत्रका महिलालाई उनीहरुले भोगेको हिंसाका बारेमा बोल्न लगाउनुपर्नेमा जोड दिइन् । उनले भनिन्, “शहरका महिला त बोल्न सक्दैनन् भने गाउँका महिलाको अवस्था अझै दयनीय छ ।”
सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले समाजले पीडितको कमजोरी खोज्दा पीडित थप पीडित भइरहेको बताइन् । मिडिया एडभोकेसी गु्रपक पूर्वअध्यक्ष बबिता बस्नेतले महिला आत्मनिर्भर हुँदा मात्रै आफूलाई परेको पीडा खुलेर भन्न सक्ने बताइन् ।