
धनगढी- धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड आज (शनिवार) ठूलो संख्यामा दल बलसहित जाखेर ताल पुगे ।
नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरीको टोलीसहित मेयर, सिडियो पुगेको देख्दा एकाएक तालमा के हुन थाल्यो ? भनेर स्थानीय चकित भए । मेयर ओडले लगाएको पैन्ट माथि सारे । तालमै पसि हाले, मंसिरको चिसो अनि जमेको कालो देखिने फोहरी तालको पानीमा । जमिनमा उम्रेको दुबो झै फैलिएको जलकुम्भीको झार निकाल्न थाले । संगै पुगेका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, उपमेयर सुशिला मिश्र भट्टसहित सेना, प्रहरीको टोली तालको जलकुम्भी निकाल्नमा जुट्यो । तब थाहा भयो स्थानीयलाई, ताल सरफाई अभियानवारे ।
धनगढी उपमहानगरपालिका–७ स्थित जाखोरतालमा फैलिएको जलकुम्भी हटाउने अभियान शनिवारबाट सुरु गरिएको हो । धनगढी उपमहानगरपालिकाके अगुवाईमा प्रशासन, नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीलगायतको सहकार्यमा अभियान सुरु गरिएको छ । जलकुम्भीले गर्दा ताल सुन्दरता बिग्रन थालेपछि अभियान सुरु गरेको मेयर ओडले बताए ।
उनले ताल सफा गरेर डुंगा सञ्चालनमा ल्याइने समेत जनाए । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले तालमा फैलिएको जलकुम्भी हटाउन थोरै व्यक्तिले सम्भव नहुने भएपछि नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरी संग समन्वय गरिएको बताए । उनले एउटै दिनमा पनि तालको जलकुम्भी हटाउन नसकिने भएकाले हरेक शनिवार सफा गर्ने बताए ।
त्यस्तै, धनगढी उपमहानगरपालिकाका उपमेयर मिश्र भट्टले नगरको सार्वजनिक स्थलको सरसफाई गर्ने अभियान सञ्चालन गरेको बताईन । उनले सरसफाई संगै जाखोर तालको गुरु योजना अनुसार संरचना निर्माण समेत गरिने बताइन् । तालको सरफाईको लागि अन्य संघ–संस्थाहरु संग पनि समन्वय गरिने भएको छ ।
धनगढी उपमहानगरपालीकाका सामाजिक विकास अधिकृत टंक बिष्टले जिल्लाका सामाजिक संघ संस्था, क्लब, खेलाडीहरु संग पनि जलकुम्भी हाटाउनको लागि समन्वय गरिने बताए । जिल्ला बनस्पती कार्यालय कैलालीले सो तालमा माछा पालनमा रोक लगाएपछि जलकुम्भी हटाउन थालिएको छ । जसलाई विकास गरेर पर्यटकीय क्षेत्र बनाइने भएको छ । ताल करिब १२ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।