
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरण त्रिशूली जलविद्युत् गृह दोस्रो युनिटको सर्किट ब्रेकरमा आगलागी हुँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा सुपरभाइजर गुञ्जमान तामाङ र इञ्जिनीयर प्रविण चौधरी रहेको जलविद्युत् गृहका प्रमुख तारादत्त भट्टले जानकारी दिए । घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।
घाइतेमध्ये तामाङको अवस्था गम्भीर रहेको छ । आज दिउँसो ३ बजेर ४५ मिनेटको समयमा विद्युत् गृहमा आगलागी भएको हो । आगलागीका कारण २१ मेगावाट क्षमताको सोही विद्युत् गृह र त्यसैको क्यास्केड १४ मेगावाटको देवीघाट विद्युत् गृहसमेत बन्द भएको छ । जसका कारण ३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणबाट बाहिरिएको छ । कूल २१ मेगावाट क्षमताको उक्त विद्युत् केन्द्रबाट हाल १६ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको थियो ।