
काठमाडौं — इजिप्टको दक्षिणी शहर लक्सरमा तीन हजार वर्षभन्दा पुरानो एक महिलाको मम्मी उत्खनन गरिएको छ । यसअघि नखोलिएको बाकसबाट महिलालाई बाहिर निकालिएको हो ।
नाइल नदीको पश्चिमी किनारामा रहेको अल असासिफमा फ्रान्सेली टोलीको नेतृत्वमा रहेको टोलीले नोभेम्बर महिनामा फेला पारेका दुई शवबाकसमध्ये यो एक हो ।
पहिलो बाकस यसअघि खोलिएको थियो र त्यसलाई अधिकारीहरूले परीक्षण गरेका थिए । तर शनिवार खोलिएको बाकस अधिकारीहरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसमक्ष पहिलोपटक खोलेका हुन् ।
मम्मीका रूपमा सुरक्षित राखिएकी महिलाको नाम थुया भएको पुरातत्त्प मन्त्रालयले एक वक्तव्य जारी गर्दै जानकारी दियो । तर मन्त्रालयकी प्रवक्ता नेभिन अरेफले मम्मीको नाम पहिचान गर्न बाकी रहेको बताइन्् ।
‘एउटा शवबाकस ऋषि शैलीमा थियो र त्यो १७औं राजवंशको हो भने अर्को शवबाकस १८औं राजवंशको हो,’ पुरातत्त्वमन्त्री खालेद अल–अनानीले बताए । ‘दुवै बाकसमा मम्मीहरू थिए ।’
अठारौं राजवंश ईशाभन्दा १३औं शताब्दीअघि विद्यमान थियो । उक्त समयमा प्रसिद्ध फराओहरू थिए जसमा तुतनखामुन र राम्सेस द्वितीय पनि पर्छन् ।
द गार्डियनबाट