विराटनगर – विराटनगरमा पहिलो पटक आयोजना गरिएको डे नाइट फूटबल प्रतियोगिताको खर्च आठ महिनापछि सार्वजनिक भएको छ । विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजक समितिका संयोजक नविन रिजालले विराट गोल्डकप २०७५ को आय व्यय सार्वजनिक गरेका हुन् ।
मोफसलमै पहिलोपटक दिवा र रात्रिकालीन (डे–नाइट) प्रतियोगता आयोजना गरेको विराट गोल्डकप आयोजक समितिले आइतवार विराटनगरमा पत्रकार सम्मेलन गरी गत वर्ष भएको प्रतियोगिताको हिसाब सार्वजनिक गरेको हो ।
रिजालका अनुसार गत वर्षको विराट गोल्डकपबाट १ करोड ४३ लाख ३४ हजार ६ सय रुपैयाँ आम्दानी गरेको छ ।
त्यसैगरी १ करोड ३१ लाख ५ हजार ४ सय २५ रुपैयाँ खर्च भएको छ । विराट गोल्डकप फूटबल टुर्नामेन्टमा प्रायोजक तथा प्रवर्द्धकबाट मात्र ५१ लाख ४६ हजार ४ सय ६१ रुपैयाँ आम्दानी गरेको थियो भने टिकटबाट ४४ लाख ५६ हजार १ सय ६१ रुपैयाँ र आर्थिक सहयोगबाट ३ लाख ४८ हजार ३ सय ४४ रुपैया आम्दानी गरेको रिजालले बताए ।
विराट गोल्डकप ट्रष्टमा अहिले ५ लाख ८८ हजार ५ सय ८१ रुपैयाँ वचत गरिएको आयोजक रिजालले जानकारी दिए ।
गोल्डकपमा सबैभन्दा बढी खर्च खेलाडी, रेफ्री र पुरस्कारमा खर्च गरिएको जनाइएको छ । खेलाडी तथा पुस्कारका लागि मात्र ६० लाख ६५ हजार ८ सय ६६ रुपैयाँ, विज्ञापनमा ११ लाख ६१ हजार २ सय २७ रुपैयाँ र टावर तथा फ्लड लाइटका लागि ८ लाख ८४ हजार ६ सय ९० रुपैयाँ, मञ्च व्यवस्थापन, उद्घाटन र समापनमा ९ लाख ४७ हजार ४ सय ४४ रुपैयाँ खर्च गरिएको आयोजक समितिले जनाएको छ ।
पाँचौं संस्करणको प्रतियोगिता गत वर्ष चैत १७ देखि २६ गतेसम्म भएको थियो । गत वर्षको प्रतियोगितामा विजेताले १२ लाख ७१ हजार र उपविजेताले पाँच लाख ५१ हजार रुपैयाँ नगद राशीको पुरस्कार प्राप्त गरेका थिए ।
गत वर्ष थ्रीस्टारले उपाधी चुमेको थियो । यस पटकको गोल्डकप चैत्र महिनाको दोस्रो साताबाट हुन सक्ने विराट गोल्डकप ट्रष्टका अध्यक्ष सान्तोष बानियाले जानकारी दिए ।
प्रतियोगिताको इतिहास
२०१८ सालबाट महेन्द्र गोल्डकपका नाममा सञ्चालित यो प्रतियोगिताको नाम २०६७ सालदेखि भने परिवर्तन गरेर विराट गोल्डकप बनाइएको थियो ।
२०६८, २०६९, २०७१ र २०७२, २०७४ सालमा भने विराट गोल्डकपका नाममा प्रतियोगिता सञ्चालन गरिँदै आएको छ । यस वर्षकाे प्रतियाेगिता चैत महिनाकाे अन्तिममा गर्ने अायाेजककाे तयारी छ ।
समय निर्धारण नै नगरी अायाेजकले विराट गाेल्डकप हुने या नहुने अन्याेल बनाएकाे छ । चैतकाे अन्तिममा गर्ने भनिए पनि मिति घाेषणा गरिएकाे छैन ।