
विराटनगर – १ नम्बर प्रदेश अन्तर्गत मोरङ र उदयपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा को१ख ४०१४ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको को२१प ७९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको अगाडि जाँदै गरेको मे६प ४९७५ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो ।
दुर्घटनामा को२१प ७९५ नम्बरको मोटरसाइकलका चालक उर्लाबारी नगरपालिका–४ बस्ने २५ वर्षीय सुदन मादेन र मोटरसाइकलको पछाडि सवार मोरङ मिक्लाजुङ गाउँपालिका–५ बस्ने २८ वर्षीय गोपी राई गम्भीर घाइते भई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा थप उपचारको लागि मादेनलाई नोबेल अस्पताल र राईलाई विराट नर्सिङ होम विराटनगर पठाइएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
यस्तै, मे६प ४९७५ नम्बरको मोटरसाइकल चालक पथरी शनिश्चरे नगरपालिका–१ बस्ने ४० वर्षीय डिल्लीराम गौतमको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
उदयपुरको बेलका नगरपालिका–९ खारखोलामा मोटरसाईकल दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । चतरा–गाईघाट सडकखण्डमा सेतीखोलाबाट रामपुरतर्फ आउँदै गरेको को२२प ८२८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाईकलमा सवार चालक सुनसरी बराह नगरपालिका–६ बस्ने ४५ वर्षीय शैलेस माझी र सवार सोही ठाउँ बस्ने १७ वर्षीय जितेन राई गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा घाइते दुवै जनालाई उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा उपचारको क्रममा माझीको मृत्यु भएको हो । राईको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
त्रियुगा नगरपालिका–७ जलजलेमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । जलजले–मुर्कुची सडक खण्डको कोन्टे भन्ने स्थानमा नम्बर नखुलेको टिप्परले स५प ३१२७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलको पछाडि सवार त्रियुगा नगरपालिका–७ कसारे बस्ने १८ वर्षीय सोनम राईको घटनास्थलमा नै मृत्यु भएको हो भने चालक सोही स्थान बस्ने १८ वर्षीय भुपेन्द्र राई घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
झापाको कमल गाउँपालिका–५ मंगलबारेमा बलेरो गाडीको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । गौरीगंज पाडाजुँगी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे१च ३१७९ नम्बरको बलेरो गाडीले पैदलयात्री गौरीगंज गाउँपालिका–२ कोरोबारी बस्ने ३५ वर्षीय लुखीराम हेम्ब्रम (सतार) लाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते उनलाई उपचारको लागि दमकस्थित लाइफलाइन अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।