
काठमाडौं — उत्तर र दक्षिण कोरियाले पहिलोपटक संयुक्त रूपमा सांस्कृतिक अभ्यासहरू दर्ता गर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघसमक्ष राख्ने भएका छन् । कुनै बेलामा दुश्मन रहेका यी छिमेकी देशहरूबीच मेलमिलपाको वातावरण बन्दै जाँदा यो प्रस्ताव राख्न लागिएको हो ।
दुई देशले परम्परागत कोरियाली कुश्ती सिरीयमलाई सांस्कृतिक विरासतका रूपमा सूचीकृत गर्न यूनेस्कोसमक्ष संयुक्त प्रस्ताव राखेका हुन् । आधिकारिक नाम सिरीयम राखिनेछ र उत्तर कोरियाली लिपि पहिले देखिनेछ ।
यूनेस्कोका महानिर्देशक अड्रे अजूलेले दुई कोरियालाई संयुक्त रूपमा निवेदन दिन विश्वस्त पारेकी थिइन् । यो अभूतपूर्व परिणाम भएको उनले वर्णन गरिन् ।
‘सांस्कृतिक विरासतले दुई पक्षबीच सम्पर्क मजबूत बनाउनका लागि केन्द्रीय भूमिका खेल्छ भन्ने कुरा यसले हामीलाई सम्झाउँछ । यसले दुई जनताबीच भावनात्मक पुलको काम गर्छ,’ उनले भनिन् ।
यूनेस्कोको एक समितिले सोमवार मौरिससमा भएको एक बैठकमा संयुक्त निवेदनमाथि मतदान गर्नेछ ।
दुई कोरियाहरू अहिले पनि युद्धकै स्थितिमा छन् । सन् १९५० देखि १९५३ सम्म चलेको युद्धमा शान्ति सम्झौता नभई युद्धविराम मात्र भएको हो ।
तर उत्तर कोरियाका नेता किम जोङ–उनले सन् २०१८ को शुरूआतमा वार्ताको पहल थालेपछि कोरियाली प्रायद्वीपमा तनाव घटेको छ । त्यसपछि खेलकुद र सांस्कृतिक आदानप्रदान भएको छ र असैन्यीकृत क्षेत्रमा गार्डपोस्टहरू
हटाइएको छ ।
दुई पक्षले विभाजनपछि कोरियाली भाषामा आएका भिन्नतालाई समरूप बनाउनका लागि संयुक्त शब्दकोषको एक परियोजना पनि फेरि शुरू गर्ने भएका छन् ।
द गार्डियनबाट