
काठमाडौँ, श्रमिक र आश्रित परिवारको दीर्घकालीन फाइदाका लागि सामाजिक सुरक्षा योजना लागू गरिने भएको छ । मंसिर ११ गते मंगलबार प्रधानमन्त्री केपी ओलीले कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सामाजिक सुरक्षा योजनाको शुभारम्भ गर्ने कार्यक्रम रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले जानकारी दिए ।
नेपालको संविधानको धारा ३४ को उपधारा २ मा उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारीत सामाजिक सुरक्षाको हक हुनेछ भन्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याउनको लागि सामाजिक सुरक्षा योजनाको शुभारम्भ गर्न लागिएको प्रवक्ता रेग्मीले बताए ।
रेग्मीका अनुसार सामाजिक सुरक्षा योजनाले देशमा सामाजिक सुरक्षाको नयाँ युगको सुरुवात गर्नुका साथै दीगो व्यवसायिक वातावरण, असल श्रम सम्वन्धको निर्माण र आम श्रमिकको मर्यादित जीवनका लागि सर्वाधिक महत्व राख्दछ ।
सामाजिक सुरक्षा योजनामा सहभागिता, योगदान र समाजिक सुरक्षाको मर्मबमोजिम औषधिउपचार, स्वास्थ्य एवं मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवारको सुरक्षा र वृद्ध अवस्थाको सुरक्षा लगायतका कार्यक्रमहरू समेटिएका छन् ।