
काठमाडौं — बलिउड फिल्मका लागि नोभेम्बर महिना सुनौलो मानिन्छ । तर यस वर्षको नोभेम्बर चाहिँ बलिउडलाई फापेन ।
यस महिनामा रिलिज भएका सबै फिल्म फ्लप भए ।
प्रभुराजको निर्देशनमा बनेको फिल्म लुप्तदेखि लिएर आमिर खानको महत्त्वाकांक्षी फिल्म ठग्स अफ हिन्दोस्तान कसैले पनि कमाल गर्न सकेनन् ।
आमिरको फिल्मबाट निकै अपेक्षा थियो । उनी अमिताभ बच्चनसँग पहिलोपटक देखिएका थिए । बेइज्जती खप्नुपरेपछि आमिरले फिल्मको असफलताको जिम्मेवारी लिएका छन् ।
त्यस्तै सन्नी देवलको फिल्म मोहल्ला असी पनि सुपरफ्लप भयो । होटल मिलन र भैयाजी सुपरहिट जस्ता फिल्मबाट त कुनै आश पनि थिएन ।
जनवरीमा पद्मावत, फेब्रुअरीमा प्याडम्यान र सोनु के टीटू की स्वीटी, मार्चमा परी, वीरे दी वेडिङ, बागी २ जस्ता फिल्म हिट भए । अनि पछिल्ला महिनामा सञ्जू, धडक, गोल्ड, स्त्री, अन्धाधुन र बधाई हो जस्ता फिल्मले पनि राम्रै कमाइ गरे ।
तर नोभेम्बरमा तिहारको मौका छोपेर रिलिज भएका फिल्महरू फ्लप रहे ।
अब २.० र जिरो फिल्मबाट बलिउडले राम्रो कमाइको आशा गरिरहेको छ । तर २.० तमिल फिल्म हो र हिन्दीमा यसको डबिङ गरिएको भर्जन मात्र आउने हो ।
एजेन्सी