३१ असार २०८३, बुधबार

सर्वोच्चको २९औं प्रधानन्यायाधीशका लागि २ जनाको नाम सिफारिस, ‘अस्वीकृत’ भएका जोशी पहिलो नम्बरमा

मंसिर ११, २०७५
सर्वोच्चको २९औं प्रधानन्यायाधीशका लागि २ जनाको नाम सिफारिस, ‘अस्वीकृत’ भएका जोशी पहिलो नम्बरमा

काठमाडौं– सर्वोच्च अदालतको २९ औं प्रधानन्यायाधीशका लागि न्याय परिषदले २ जना न्यायाधीशको नाम सिफारिस गरेको छ । सर्वोच्च अदालतमा ३ वर्षसम्म स्थायी न्यायाधीशका रुपमा कार्यरत व्यक्ति प्रधानन्यायाधीश हुने व्यवस्थाअनुसार २ जना न्यायाधीशको नाम भावी प्रधानन्यायाधीशका लागि संवैधानिक परिषदमा सिफारिस गरिएको छ । 

न्याय परिषद स्रोतका अनुसार सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शम्शेर जबराको नाम भावी प्रधानन्यायाधीशका लागि सिफारिस गरिएको हो । 

न्याय परिषदले भावी प्रधानन्यायाधीशका लागि जोशीको नाम पहिलो नम्बरमा राखेको छ । यद्यपि जोशीको नाममा कैफियतसहित  प्रधानन्यायाधीशका लागि सिफारिस गरिएको परिषद स्रोतले जनाएको । जोशी यसअघि सर्वोच्चको २८ औं प्रधानन्यायाधीशका लागि सिफारिस भएकोमा संसदीय सुनुवाई विशेष समितिले ‘अस्वीकृत’ गरेको थियो । न्याय परिषदले संवैधानिक परिषदले अस्वीकृत गरेको विषयलाई जोशीको हकमा कैफियतको रुपमा उल्लेख गरेको छ ।  

संवैधानिक परिषदको बैठकले न्याय परिषदबाट सिफारिस भएकामध्ये कुनै १ जनाको नाम भावी प्रधानन्यायाधीश नियुक्त गर्न लागि संसदीय सुनुवाईका लागि सिफारिस गर्ने छ । जोशी यसअघि नै संसदीय सुनुवाईबाट अस्वीकृत भइसकेकाले चोलेन्द्र शम्शेर जबरा भावी प्रधानन्यायाधीशका लागि सिफारिस हुनसक्ने संभावना बलियो छ । 

संसदीय सुनुवाई समितिले सुनुवाई गरेर नाम स्वीकृत गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने कानूनी व्यवस्था छ । 

गत साउन २५ गते प्रधानन्यायाधीशमा नियुक्त भएका ओमप्रकाश मिश्र ६५ वर्ष उमेर पुगेका कारण पुस १७ गतेबाट अनिवार्य अवकाश पाउँदैछन् । 

salt training

कमेन्ट गर्नुहोस्