
काठमाडौं–बैशाखमा महाधिवेशन भए राष्ट्रिय जनता पार्टी (राजपा) मा अध्यक्ष मण्डलका सदस्यद्वय अनिलकुमार झा र राजकिशोर यादव अध्यक्ष मण्डलको संयोजक बन्नबाट बन्चित हुने भएका छन् ।
राजपाले आउदो वैशाखको ७, ८ र ९ गते एकताको प्रथम ऐतिहासिक महाधिवेशन गर्ने तयारी गरेको छ । अध्यक्ष मण्डलका संस्थापक संयोजक महन्थ ठाकुरले चक्रीण प्रणाली नमानेका कारण उनीहरुको संयोजक बन्ने सम्भावना कमजोर बन्दै गएको हो ।
२०७४ बैशाख ७ गते ६ वटा पार्टी मिलेर राजपा बनेको थियो । ५ वटा पार्टीले एकताको निर्णय गरिसकेपछि अन्तिममा मात्र झा नेतृत्वको पार्टी समावेश भएको थियो ।
ठाकुर त्यो बेलादेखि मंसिर ४ गतेसम्म संयोजकको रुपमा रहेका थिए । पार्टी विधानको धारा १६ को उपधारा (५) मा चक्रीय प्रणालीमा अध्यक्ष चयन हुने व्यवस्था स्पष्ट भए पनि ठाकुरले संयोजक नछोड्दा समस्या उत्पन्न भएको थियो ।
मंसिर ४ गतेबाट राजेन्द्र महतो संयोजक बनेका छन् । महतोले २ महिनामा नेतृत्व हस्तान्तरण गरे त्यसपछि महिन्द्र राय यादब, शरतसिंह भण्डारी संयोजक हुनेछन् ।
बैशाखमा भण्डारीको संयोजक हुने पालो आउने भएको छ । महाधिवेशन समयमै नभए अन्तिममा आएर झा र यादब संयोजक बन्नेछन् ।
राजपाले २०७४ असार २३ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निबेदन दिएको थियो । आयोगले असार ३० गते मात्र दल दर्ताको आधिकारिकता दिएको थियो । त्यसो हुँदा असार ३० गतेसम्म आयोगमा नयाँ समितिको नाम बुझाए फरक नपर्ने भएको छ ।
राजपा महासचिव केशब झाले वैशाखमा नै महाधिवेशन भइहाल्छ भन्ने विश्वासिलो आधार नभएको बताए । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।