
सुर्खेत– दैलेखकाे ठाँटिकाँध गाउँपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । सुर्खेतबाट ठाँटिकाँध गाउँपालिकाको वडा नं. ३ बाहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नं. को जिप बुधबार बिहान करिव ८ बजे धामीगाउँ नजिक दुर्घटनामा परेको हो ।
दुर्घटनामा ठाँटिकाँध गाउँपालिका ३ का अन्दाजी ४७ वर्षीय राजेन्द्रबहादुर शाही, वडा नं. १ का अन्दाजी ३० वर्षीय निर्मल बम र अर्का एक जनाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले तीन जनाको मृत्यु भएको पुष्टी गरे ।
उनले प्रहरी टोली र एम्बुलेन्स घटनास्थलतर्फ गइरहेको र त्यहाँ पुग्न केहि समय लाग्ने जानकारी दिए । घाइतेहरूको नाम र ठेगाना खुल्न सकेको छैन ।
घाइते मध्ये ६ जनाको अवस्था गम्भिर रहेको ठाँटिकाँध गाउँपालिका वडा नं. ३ का वडा सदस्य कर्णबहादुर वोगटीले जानकारी दिए । उद्धारकालागि वडा नं. ३ का वडा अध्यक्ष कर्णबहादुर शाही लगाएतको टोली घटना स्थल पुगेको छ ।
गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही लगाएत ठाँटिकाँध प्रहरी चौकीको टोली पनि घटना स्थलतर्फ गएको छ । यस्तै चामुण्डा विन्द्रासैनी नगरपालिकावाट एम्बुलेन्ससहित नगरपालिकाका मेयर सूर्यबहादुर शाहीको टोली पनि घटना स्थलतर्फ गएको छ ।