१२ साउन २०८३, मंगलबार

बुटवलमा मेगा बैंकको प्रादेशिक कार्यालय शिलान्यास

मंसिर १२, २०७५
बुटवलमा मेगा बैंकको प्रादेशिक कार्यालय शिलान्यास

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले प्रादेशिक कार्यालयका लागि बुटवलमा अत्याधुनिक भवनको शिलान्यास गरेको छ । 

५ नम्बर प्रदेशको प्रादेशिक कार्यालयका लागि बुटवलको मिलन चोकमा आफ्नै जमिनमा अत्याधुनिक भवनको शिलान्यास गरिएको हो ।

मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बुधबार एक समारोहबीच संयुक्त रुपमा भवनको शिलान्यास गरे ।

मेगा बैंकको पञ्चवर्षीय रणनीतिक कार्ययोजना अनुसार सातै प्रदेशमा प्रदेश कार्यालय स्थापना गरेर बैंकिङ पहुँच बृद्धि गरी रोजगारमूलक एवं उत्पादनमूलक क्षेत्रमा गरिने लगानीको बढोत्तरी गर्ने लक्ष्य रहेको अध्यक्ष शाहले बताए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सरकारी नारालाई साकार पार्न कृषि, पर्यटन, भौतिक पूर्वाधार, जलविद्युत्, शिक्षा, स्वास्थ्य क्षेत्रका उद्यमी व्यवसायीसँग हातेमालो गर्न मेगा बैंक तयार रहेको भन्दै उनले सहकार्यका लागि आह्वान गरे ।

मेगा बैंकले यसअघि नै बुटवलमा प्रादेशिक कार्यालय स्थापना गरी कारोबारलाई केन्द्रीत गरिरहेको छ । आगामी ११ महिनाभित्र अत्याधुनिक भवन निर्माण गरी आफ्नै कार्यालयबाट सेवा प्रदान गर्ने योजना गरेको प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले बताइन् । मेगा बैंकको कारोबार उत्साहजनक देखिएको बताउँदै सीईओ खुञ्जेलीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ४० करोड ४५ लाख रुपैयाँ खुद मुनाफा गर्न सफल भएको जानकारी दिइन् ।

बैंकको कूल निक्षेप अघिल्लो वर्षको तुलनामा २६ अर्ब २७ करोडले वृद्धि भई २०७५ असोज मसान्तमा ६६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ, जुन ६६ प्रतिशतको वृद्धि हो । कर्जा तथा सापटी २६ अर्ब ५४ करोडले वृद्धि भई ६२ अर्ब २५ करोड कायम भएको छ । 

भवन शिलान्यास कार्यक्रममा मेगा बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तुलसीराम पोखरेल तथा बुटवल क्षेत्रका उद्यमी, व्यावसायी तथा नागरिक समाजका अगुवाको सहभागिता थियो । 

मेगा बैंकका १ सय २ वटा शाखा, १८ वटा एक्टेनसन काउन्टर, १ सय १९ वटा शाखारहित बैंकिङ केन्द्र, २ हजार ३ सयभन्दा बढी मेगा रेमीट सञ्जाल र ७९ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्