२३ जेठ २०८३, शनिबार

२.० फिल्म समीक्षा : रोमाञ्चक एक्सन, सामान्य कथा

मंसिर १३, २०७५
२.० फिल्म समीक्षा : रोमाञ्चक एक्सन, सामान्य कथा

काठमाडौं — दक्षिण भारतीय निर्देशक शंकरको महत्त्वाकांक्षी फिल्म २.० आज सार्वजनिक भएको छ । 

फिल्मको कथा संक्षिप्तमा यस्तो छ : आत्महत्या गरेका एक चराविशेषज्ञ पाँचौं शक्तिका रूपमा मानिसहरूसँग बदला लिन आएका छन् । मानिसहरूले मोबाइल फोनको विकिरणबाट चराहरूलाई गरेको हानिको बदला लिन उनी आएका हुन् । तर उनलाई रोक्नका लागि चिट्टी रोबोटको अप्ग्रेड गरिएको संस्करण २.० आएको छ । 

अघिल्लो फिल्म एन्धिरन वा रोबोटको सिक्वेलका रूपमा शंकरले २.० बनाएका हुन् । यसमा उनले प्रायः उठाउने विषय नै समेटेका छन् । अन्यायमा परेको एक व्यक्तिले आफ्नो जीवन बर्बाद गर्ने मानिसमाथि बदला लिने कथालाई नै शंकरले यसमा प्रयोग गरेका छन् । तर यसमा उनले चरालाई माया गर्ने व्यक्तिले चराका लागि बदला लिन चाहेको देखाएका छन् । यो फिल्म अलिकति विज्ञानकथा जस्तो, अलिकति हरर फिल्म जस्तो, अलिकति बदलाको कथा जस्तो अनि अलिकति स्पेसल इफेक्टयुक्त तामझाम जस्तो देखिन्छ । 

एक वृद्ध व्यक्तिले मोबाइल फोनको टावरबाट हाम्फालेर आत्महत्या गरेको दृश्यबाट फिल्म शुरू हुन्छ । त्यसपछि फिल्ममा डा वशीगरन (रजनीकान्त) लाई चिनाइन्छ । उनको सहायक छिन् नीला (एमी ज्याकसन) जो मानवजस्तो देखिने रोबोट हुन् । 

केही समयपछि मोबाइल फोनहरू दराजबाट पनि मानिसको हातबाट उड्न थाल्छन् । वशीगरनलाई यो अनौठो घटनाको अनुसन्धान गर्न बोलाइन्छ । अनि मोबाइल फोनहरूबाट बनेको एक विशाल चराले शहरमा आक्रमण गर्न थालेपछि वशीगरन फुकालेर थन्क्याइसकेको रोबोट चिट्टीलाई फेरि सञ्चालन गराउन बाध्य हुन्छन् ।   

२.० को कथानकमा नौलोपन छैन । हामीले स्क्रीनमा देख्ने अतिप्राकृतिक घटनामा कुनै रहस्य छैनन् । पहिलो हाफ पूरै पक्षीराजन (अक्षय कुमार) को फ्ल्याशब्याकमा खर्चिइएको छ । फिल्मको शुरूआतमा आत्महत्या गर्ने वृद्ध यिनै पक्षीराजन हुन् । 

यो फ्ल्याशब्याकले हामीलाई शंकरको इन्डियन र जेन्टलम्यान जस्ता फिल्ममा भएका फ्ल्याशब्याकले जस्तो भावुक बनाउँदैनन् । पहिलो हाफमा घटना जसोतसो अघि बढ्छ र कुनै हरर फिल्म जस्तो लाग्छ । यहाँ भएको भूतलाई चाहिँ विज्ञानकथाले व्याख्या गराइन्छ अनि माइक्रोफोटोनहरूबाट बनेको प्रकाशलाई व्यक्तिको आभाका रूपमा वर्णन गरिन्छ । 

तर शंकरका पछिल्ला फिल्महरूमा कथानक खोज्नुको औचित्य छैन । उनले पुरानै कथाहरूलाई भव्य रूपमा प्रस्तुत गर्ने गरेका छन् । अनि २.० मा त्यो भव्यताले दर्शकलाई सन्तुष्ट तुल्याउँछ । पहिलो हाफमा मुग्ध बनाउने दृश्यहरू छन् : सडकमा घस्रिरहेका मोबाइल फोनहरू, चम्किरहेका फोनको जंगल अनि ऊर्जावान विशाल चरा । 

हलिउड फिल्म एलियनमा जस्तो एक व्यक्तिको पेट फुटाएर मोबाइल फोन निस्केको, टर्मिनेटर २ मा जस्तो जति आक्रमण गर्दा पनि फेरि आफूलाई पुरानै रूपमा फर्काउने एक अविनाशी तत्त्व र गोस्टबस्टरमा जस्तो आभालाई फसाउनका लागि वशीगरनले बनाएको एक यन्त्र यस फिल्ममा देखिन्छन् । तर केही ठाउँमा बाहेक भिजुअल इफेक्टहरू गजबका छन् अनि थ्रीडीको अनुभव पनि सुन्दर छ, दर्शकको आँखालाई बिझाउँदैन ।

चिट्टी र विशाल चराबीचको भव्य लडाईं मात्र फिल्मको पहिलो हाफमा बबाल कुरा हो । एन्धिरनमा जस्तो यसमा हास्य र नवीनता छैन । फिल्मका संवादहरू दमदार छैनन् अनि पात्रहरू सामान्य मात्र छन् । तर फिल्ममा गीत नघुसाएकोमा चाहिँ शंकरको प्रशंसा गर्नुपर्छ । 

फिल्ममा २.० (रजनीकान्त) को प्रवेश भएपछि मात्र ऊर्जा आउँछ । अघिल्लो फिल्ममा जस्तो रजनीकान्तले स्टाइल देखाउँछन् र आफ्नो चरित्रमा मज्जा लिन्छन् । 

अक्षय कुमारले पनि खलनायकका रूपमा दमदार उपस्थिति जनाएका छन् । अनि क्लाइमेक्समा २.० र पक्षीराजनबीचको लडाईंले दर्शकको पैसा वसूल गरिदिन्छन् । 

शंकरले ३.० अर्थात् कुत्तीलाई फिल्ममा सुन्दर तरिकाले स्थान दिएका छन् । तर उनले यो पात्रलाई कथालाई अलि अगाडि ल्याइदिएको भए फिल्म अझै भव्य हुन्थ्यो ।

द टाइम्स अफ इन्डियामा प्रकाशित एम सुगन्थको समीक्षाको अनुवाद


फिल्म : २.०
निर्देशक : शंकर शानमुगम
कलाकार : रजनीकान्त, अक्षय कुमार, एमी ज्याकसन आदि
अवधि : २ घन्टा २४ मिनेट
रेटिङ : ३/५

 

salt training

कमेन्ट गर्नुहोस्