
काठमाडौं — पाकिस्तानलाई चीनले दिएको ऋण सहायतामा पारदर्शिता ल्याउनुपर्ने माग अमेरिकाले राखेको छ ।
पाकिस्तानले अर्बौं डलरको आर्थिक सहायता प्राप्त गर्नका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग सम्पर्क गरेको छ । आईएमएफबाट सहयोग प्राप्त गरेर चीनको ऋण तिर्ने दाउमा पाकिस्तान रहेको आशंका अमेरिकाले गरेको छ ।
अन्तर्राष्ट्रिय मामिलाका सहायक अर्थमन्त्री डेभिड मालपासले कंग्रेसको एक समितिको सुनुवाइका बेलामा सांसदहरूसँग कुरा गरे ।
उनले भने, ‘अन्तर्राष्ट्रिय मुद्रा कोषको टोली पाकिस्तानबाट भर्खरै फर्केको छ । ऋणमा पूर्ण पारदर्शिता हुनुपर्छ भनी हामी जोड दिइरहेका छौं ।’
अमेरिकी सांसद जेफ मर्कलीले आईएमएफको ऋणलाई चीनको ऋण तिर्न त पाकिस्तानले उपयोग गर्ने हैन भनी सोधेको प्रश्नमा मालपासले उत्तर दिएका हुन् ।
मर्कलीका अनुसार, पाकिस्तानले धेरैजसो मामिलामा आफ्नो ऋणको शर्तलाई खुलासा गरेको छैन । शर्तमा ब्याजदर र तिर्ने अवधि समावेश छ ।
पाकिस्तानमाथि चीनको लगभग ६२ अर्ब डलर ऋण छ । हालै उसले आर्थिक संकटबाट पार पाउन अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १२ अर्ब डलरको आर्थिक सहायता (बेलआउट प्याकेज) मागेको छ ।
एजेन्सी