२३ जेठ २०८३, शनिबार

अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणमा नेपाली उत्पादन प्रयोग गर्न माग

मंसिर १३, २०७५
अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणमा नेपाली उत्पादन प्रयोग गर्न माग

विराटनगर – निर्माण प्रक्रियामा रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्यलाई थप प्रभावकारी बनाउन १ नम्बर प्रदेशका उद्योगी, व्यापारी, इन्जिनियर तथा परियोजनासँग छलफल भएको छ ।

लगानी बोर्डले विराटनगरमा कार्यक्रमको आयोजना गर्दै अरुण तेस्रो परियोजनालाई सफल बनाउनको लागि कस्तो खालको निर्माण सामग्री प्रयोग गर्ने र निर्माण सामग्री कहाँबाट कसरी उपलब्ध गराउने भन्ने विषय जोडतोडको साथ उठेको छ ।

उद्योग वाणिज्य महासंघका प्रदेश उपाध्यक्ष राजेन्द्र राउतले आयोजनाले स्वदेशमै उत्पादित निर्माण सामग्री प्रयोग गर्नुपर्ने बताए । उनले आयोजनालाई चाहिने सिमेन्ट, ढुंगागिट्टी तथा डण्डी सबै प्रकारका निर्माण सामग्री स्वदेशमै उत्पादन हुने भएकाले सोही सामग्री प्रयोग गर्न उनले सुझाव दिए । उद्योग संगठन मोरङका पूर्वअध्यक्ष अशोक मुरारकाले आयोजनामा स्वदेशमै उत्पादित गुणस्तरीय सामग्री प्रयोग हुनुपर्ने बताए ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत सतिशकुमार शर्माले आयोजना निमार्णमा पहिलो प्राथमिकता नेपालमा उत्पादित सामग्रीलाई दिइने भन्दै नेपालमा नपाइने सामग्री मात्र अन्य मुलुकबाट आयात गरिने बताए । 

निर्माणमा प्रयोग हुने कतिपय सामग्री नेपालमा उत्पादन नहुने गरेको उनले बताए । उनले भने, ‘अहिले नै यान नजाने हो भने सामग्री ढुवानीमा समस्या छ, कोशी राजमार्गका धेरै ठाउँहरू भत्किएका छन् ।’ 

अरुण तेस्रो १ नम्बर प्रदेशको संखुवासभामा निर्माण शुरू भएको ५ महिना भइसकेकाले तोकिएको समयमा काम सम्पन्न गर्न आफूहरू लागिपरेको शर्माको भनाई छ । प्रदेशका प्रमुख सचिव केदार न्यौपानेले अरुण तेस्रो प्रदेशकै लागि गौरवको आयोजना भएकाले परियोजना समयमै सम्पन्न हुनुपर्नेमा जोड दिए ।

परियोजनाले प्रदेशको विकासको ढोका खोल्ने भएकाले प्रदेशमा निर्बाध रुपमा लगानी गर्न लगानीकर्तालाई उनले आग्रह गरे । अरुण तेस्रोको आयोजना पूरा गर्न २०७१ मंसिर ९ गते सरकार र परियोजना विकासकर्ता एसजेभीएन अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनीबीच सम्झैता भएको थियो । 

५ वर्षभित्र निर्माण सम्पन्न गरिने परियोजनाको निर्माण लागत १ सय ४ अर्ब रुपैयाँ रहेको छ भने आयोजनाको विद्युत् उत्पादन क्षमता ९ सय मेगावाट रहेको छ । आयोजना निर्माणका लागि १४ लाख ४२ हजार ७ सय २७ घनमिटर वालुवा, ४ लाख ५८ हजार ८ मेट्रिकटन सिमेन्ट तथा साढे ४८ हजार मेट्रिक टन स्टील लाग्ने निर्माण आयोजनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्