०९ साउन २०८३, शनिबार

कांग्रेसमा विधान संशोधनको मस्यौदामाथि छलफल शुरु

मंसिर १३, २०७५
कांग्रेसमा विधान संशोधनको मस्यौदामाथि छलफल शुरु

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विधान संशोधन मस्यौदामाथि आजदेखि छलफल शुरु गरेको छ । 

मुलुक सङ्घीय संरचनामा गएपछि नयाँ बनेको संरचनाअनुसार पार्टीलाई लैजाने उद्देश्यका साथ विधान संशोधन समितिले तयार पारेको मस्यौदामाथि छलफल शुरु भएको हो । 

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रस्तावित विधानलाई अन्तिम रुप दिन छलफल शुरु गरेको हो । 

पार्टीको मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुन लागेको महासमिति बैठकमा राखिने विधानलाई अन्तिम रुप दिन काङ्ग्रेस छलफलमा जुटेको हो । पार्टी केन्द्रीय कार्यसमितिले पारित गरेको विधान संशोधन मस्यौदा महासमिति बैठकले पारित गरेपछि लागू हुनेछ । 

यही मङ्सिर ९ गते बसेको पार्टीको बैठकले विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रतिवेदन अध्ययनका लागि तीन दिनको समय दिएपछि आजको बैठक बोलाइएको हो । मङ्सिर ९ गतेको बैठकमा पार्टी महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको समितिले प्रतिवेदन पेश गरेको थियो । 

काङ्ग्रेस सहमहामन्त्री डा प्रकाशशरण महत संशोधनका लागि प्रस्ताव गरिएको मस्यौदामाथि दफावार छलफल गरिने बताए । “संशोधित मस्यौदाबाहेक राजनीतिक, आर्थिक र सङ्गठन प्रस्ताव बारेसमेत छलफल हुनेछ,” उनले भने । सबै प्रस्तावमाथि छलफल गरेर तोकिएको समयभित्र महासमिति बैठक सक्नेगरी गृहकार्य गरिरहेको उनको भनाइ थियो । 

बिहीवारको बैठकमा प्रस्तावित विधानबारे केन्द्रीय सदस्यहरु डा रामशरण महत, महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी र प्रदीप पौडेलले आफ्नो धारणा राखेका थिए । 

बैठकमा बोल्ने नेताहरुले गाउँको कार्यकर्ताको भावनालाई समावेश गरेर विधान संशोधन गर्नुपर्ने धारणा राखेका थिए । काङ्ग्रेस नेता प्रदीप पौडेलले पार्टीमा युवालाई समावेश गर्नेगरी विधान संशोधन गर्नुपर्ने विचार राखे । 

संशोधन हुन लागेको विधानबारे छलफल गर्न बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्