
काठमाडौं – म्यानचेस्टर सिटी अघिल्लो सीजनमा १४ अंक मात्र गुमाएर बेलायती फूटबलको इतिहासमा पहिलोपटक १०० अंकका साथ लीगविजेता बनेको थियो । सन् २०१८–१९ को सीजनमा प्रेमियर लीगका २० मध्ये १५ टोलीले १४ भन्दा बढी अंक गुमाइसकेका छन् ।
सिटीले अघिल्लो सीजनको राजसी ठाँटमा अझै वृद्धि गर्ने कुरा असम्भव जस्तो देखिन्थ्यो तर अहिलेसम्मका संकेत हेर्दा त्यो सम्भव देखिन्छ । तर लियोनविरुद्ध उनीहरूले च्याम्पियन्स लीगमा खेलेका दुई खेलले पेप ग्वार्डिओलाको टोलीलाई वशमा राख्न सक्ने केही आशा विपक्षी क्लबहरूलाई दिएको छ ।
सन् २०१७–१८ मा खेलेका १३ खेलपछि सिटीसँग अहिलेको भन्दा थप दुई अंक र थप दुई गोल थियो । दोस्रो स्थानमा रहेको क्लबभन्दा माथि रहेर उसले आठ अंकको अग्रता लिएको थियो । तर यस सीजनमा उनीहरूले कसरी प्रगति गरेका छन् भन्ने देखाउनका लागि एउटा आँकडा पर्याप्त छ । यस सीजनमा उनीहरूले पहिलेको भन्दा तीन गोल कम खाएका छन् ।
म्यानचेस्टर सिटीले यस सीजनमा पाँच गोल खाएको छ अनि लिभरपूलले पनि पाँच गोल नै खाएको छ । दुई टोलीले संयुक्त रूपमा खाएको १० गोल इंग्ल्यान्डको फूटबल इतिहासमै शीर्ष दुई क्लबको सबभन्दा कम हो ।
तर डिफेन्स बलियो बनाउनमा युर्गेन क्लोपको टीमले दिएको जोडले उनीहरूलाई खुलेर खेल्न नदिएको देखिन्छ किनकि उनीहरूले जम्मा दुईचोटि मात्र तीन गोलभन्दा बढी हानेका छन् ।
सिटीले चाहिँ वेस्ट ह्यामविरुद्ध चार, कार्डिफ र बर्नलीविरुद्ध पाँच अनि हडर्सफील्ड र सदम्पटनविरुद्ध ६ गोल हानिसकेको छ ।
सिटीले यस सीजनमा विपक्षीहरूलाई गोलका लागि ११ वटा मात्र प्रस्ट अवसर दिएको छ । तीमध्ये पाँचवटा गोलमा परिणत भएका छन् । त्यसैले अर्को शब्दमा भन्नुपर्दा सिटीले यस सीजनको प्रेमियर लीगमा खाएको गोल भनेको विपक्षीले स्कोर गर्छ नै भनी अपेक्षा गरिएको गोल मात्र हो ।
यीमध्ये अन्तिम दुई गोल पेनाल्टीबाट प्राप्त भएका हुन् । भनेपछि यस सीजनमा सिटीले तीन महिना यतादेखि ओपन प्लेबाट एउटा पनि गोल खाएको छैन ।
अहिले प्रेमियर लीगको शीर्ष चार स्थानमा रहेका टीममध्ये चेल्सीको पोजिसन सबभन्दा धर्मराएको देखिन्छ ।
उनीहरूले विपक्षीको गोल खानका लागि सिटीको भन्दा दुईगुणा बढी अवसरहरू दिएका छन् । तर व्याख्या गर्न नसकिने गरी विपक्षी टोलीहरूले १७ वटा त्यस्ता अवसर गुमाएका छन् । गत साता टोटनहमले उनीहरूलाई ध्वस्त पारेको थियो र त्यसको साइत त्यसअघिदेखि नै जुरिरहेको थियो ।
सिटीमा चाहिँ प्रेमियर लीगकै सबभन्दा सही पास दिने खेलाडी जोन स्टोन्स छन् (९५ प्रतिशत पासिङ एक्युरेसी) अनि जोर्गिन्होपछि लीगकै दोस्रो सबभन्दा धेरै पास गर्ने एमरिक लापोर्टे छन् । उनले ११ सय ५१ पास गरेका छन् ।
सेन्ट्रल डिफेन्सको यो साझेदारीले बिस्तारै त्रुटिरहित हैसियत बनाउन थालेको छ । एउटा खेलमा विपक्षीलाई दुईभन्दा कम अवसर दिने मामिलामा प्रेमियर लीगकै इतिहासमा पहिलो टीम बन्ने बाटोमा ग्वार्डिओलाका खेलाडीहरू लम्किरहेका छन् । सिटीले औसतमा प्रत्येक खेलमा १.९२ मात्र शट अन टार्गेटको अवसर दिएको छ ।
अंक तालिकामा रहेका अन्य टोलीलाई हेर्दा तीमध्ये बहुमत टोली आफ्नो डिफेन्स शक्तिका लागि प्रसिद्ध छन् तर तिनीहरूले ग्वार्डिओलाको सिटीको जस्तो प्रदर्शन गर्नै सकेका छैनन् ।
सन् २००४–०५ मा चेल्सीले सीजनभरि १५ गोल मात्र खाएको थियो र तीमध्ये दुई गोल उपाधि जित्ने पक्का भइसकेपछि खाएको हो । तर चेल्सीले त्यसबेलामा ७२ गोल मात्र गरेको थियो । सिटीले अहिले जस्तै गोल हानिरहने हो भने त्यति गोल त जनवरी महिनाको अन्त्यमै गरिसक्छ ।
फूटबलमा टोलीहरू परम्परागत रूपमा डिफेन्समा बलियो हुनैपर्ने वा फर्वार्डमा जान अब्बल हुनुपर्ने हुन्छ । अनि पेप ग्वार्डिओलाले यो दुवै गर्नका लागि उपाय पत्ता लगाइसकेका छन् र निश्चित रूपमै प्रेमियर लीगको इतिहासमा सबभन्दा प्रभावशाली टोली बनाउन सफल भएका छन् ।
गोल डट्कममा प्रकाशित डन्कन अलेक्जेन्डरको विश्लेषण