
बुटवल – शनिवार ३१ औं विश्व एड्स दिवस । ‘एचआइभी जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ भन्ने नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदै छ ।
बुटवलमा पनि एड्स दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
आस्था समूह, बुटवल, एएचएफ नेपाल, स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर पाँचले विभिन्न सचेतनामूलक कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।
आस्था समूह बुटवलका अध्यक्ष केशव पुन मगरले शनिबार दिनभर बुटवलमा कार्यक्रम गरी दिवस मनाइरहेका बताए । बिहान ९ बजे ट्राफिकचोकमा निःशुल्क एचआईभी परीक्षण गरिएको छ भने दिउँसो २ बजेदेखि राजमार्ग चौराहाबाट ट्राफिक चोकसम्म र्याली आयोजना गरिएको पुनले जानकारी दिए ।
कार्यक्रममा सामाजिक विकास मन्त्री शुदर्शन बरालले सम्बोधन गर्नेछन् । अपराह्न ४ बजे सचेतनामूलक नाटक र नृत्यु प्रदर्शन समूहले जनाएको छ ।
रूपन्देहीमा २ हजार २ सय एचआईभी संक्रमित रहेको एएचएफ नेपालले जनाएको छ । एएएचएफ नेपालका धर्मराज भट्टराईले जसमध्ये ७ सय ९७ जनाले नियमित औषधि खाइरहेका बताए । अहिले लुम्बिनी अञ्चल अस्पताल बुटवलमा १ हजार १ सय ४६ जनाले नियमित रुपमा एआरटीको औषधि सेवन गर्दै आएका छन् ।
सन् २००८ यता रूपन्देही मात्रै एचआइभीको संक्रमणबाट ३ सय ९ जनाको मृत्यु भएको छ । लाज, डर र अफ्ठ्यारो मानेर एचआईभी संक्रमितहरु समयमै चेकजाँच गराउन जाँदैनन् । जसका कारण अन्तिम रोगले ग्रस्त बनाएपछि जाँदा उनीहरुको औषधिले पनि काम गर्दैन । जसले गर्दा मृत्यु हुन्छ । एचआईभीको औषधि सरकारले निःशुल्क वितरण गर्दै आएको छ ।