काठमाडौं–एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले काठमाडौंमा आज सम्पन्न ‘एशिया प्यासिफिक समिट–२०१८’ को कार्डमा नेपाल सरकारको लोगो रहेको भन्दै आपत्ति जनाएका छन् ।
त्यस्तै उनले यो कार्यक्रमको तामझामको लागि कमसेकम दुई करोड खर्च सरकारले गरेको आरोप लगाए ।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने,‘डेलिगेट्स ल्याउने खर्च आयोजक संस्थाले नै गरेको छ । तर, यसको तामझामको लागि नेपाल सरकारले ठूलो खर्च गरेको छ ।’ सरकारले यो विवादित संस्थासँग सहकार्य गर्नुको कारण के हो भन्दै उनले प्रश्नसमेत तेर्साए ।
डा. लोहनीले भने,‘नेपालको लागि यो भेलाको उद्देश्य युनिफिकेसन चर्चको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने र उक्त चर्चका इसाइ पादरीबाट नेपालका ठूलाबडाका दम्पतिसहित आशीर्वाद लिने काममा सिमित रहेको देखिन्छ । युनिफिकेसन चर्चको बजारीकरणमा नेपाल सरकारले दुई करोड़ खर्च गरी हिस्सेदार बनेर हिन्दु र वुद्ध भूमि नेपालको सांस्कृतिक जग बलियो हुन्छ भन्नु अर्थहीन हो ।’
दक्षिण कोरियाको युनिफिकेसन चर्चको बजारीरणको लागि नेपालका प्रधानमन्त्रीसहित १५०० दम्पतिलाई चर्चका गुरुबाट आशीर्वाद दिने युनिफिकेसन चर्चको भेलामा नेपाल सरकार संलग्न हुनु दुर्भाग्य रहेको डा. लोहनीको टिप्पणी छ ।
उनले प्रधानमन्त्री, मन्त्री तथा नेपाल सरकारका विशिष्ट व्यक्तित्वहरुले आर्शिवाद नै लिनुपर्ने भए नेपालकै लामा गुरु, मनकामनाका पुजारी, पशुपतिनाथका मुल भट्ट र जनकपुरको जानकी मन्दिरका महन्थबाट लिए हुने नि भन्दै नेपालका अगुवाहरुले यसरी आर्शिवाद लिएकोमा आपत्ति जनाए ।
उनले भने,‘अब उनीहरुपनि त्यही संस्थाको परिवार भए । प्रकारान्तरले यो सम्मेलनले ईशाईलाई बढावा दिएको छ ।’ आफू धार्मिक स्वतन्त्रतामा विश्वास गर्ने व्यक्ति भएको सुनाउँदै उनले यो सम्मेलन नेपालको संविधानविपरित पनि रहेको जिकिर गरे । उनले भने,‘वर्तमान प्रधानमन्त्री ओलीजीले नेपालको संविधानलाई चूनौति दिने काम गर्नुभयो । अमेरिकालगायत अन्य देशमा यो संस्थाले कम्युनिष्टहरुको विरुद्धमा पैसा लगानी गर्दै आएको छ । तर, त्यही संस्थाको पक्षमा यो कम्युनिष्ट सरकार किन उभियो ? मलाई आश्चर्य लागेको छ।’
नेपाल सरकारले विवादस्पद संस्थाको बजारीकरण र बढावा दिन, र उनीहरुको हातबाट आर्शिवाद लिने काम किन गर्यो भन्दै लोहनीले पटक–पटक प्रश्न समेत तेर्साए । उनले अझै प्रश्न गरे,‘कतै नदेखिनेगरि उनीहरुबीच लेनदेन त भएको छैन ? कतै नदेखिनेगरि नेपालको राष्ट्रियता, गरिमा र अस्मिता बेचबिखन त भएन ?, त्यही भएर हाम्रो पार्टीले सम्मेलनमा भाग नलिएको हो । हामी सरकारले आयोजना गरेको भोजमा पनि सहभागी भएनौं ।’
वर्तमान सरकारसँग स्पष्ट दृष्टिकोण र चिन्तन नदेखिएको उनको गम्भिर आरोप छ ।
उनले कमल थापा नेतृत्वको राप्रपाका असन्तुष्ट समूह, पशुपति शमशेर जबरा र आफूहरुबीच छिट्टै एकता हुने पनि सो क्रममा बताए ।