
काठमाडौं– नेपाली कांग्रेसले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आयोजनामा काठमाडौँमा भइरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा सरकारसमेत आयोजकको भूमिकामा संलग्न भएको भनी आरोप लगाएको छ ।
कांग्रेसले आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले सम्मेलनमा सरकारको संलग्नता संविधानविपरीत भएको र राज्यको साधन एवं स्रोतको दुरुपयोग भएको भनी दुःख व्यक्त गरेको जानकारी दिए ।
बैठकले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको सफलता भड्किलो शैलीको प्रचारले होइन परिपक्व र जिम्मेवार ढङ्गको व्यवस्थापकीय कुशलताबाट सम्भव हुने व्यावहारिक यथार्थप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम
एशिया प्रशान्त सम्मेलनले नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम रहेको र शान्ति कायम गर्न सबैले यसको अध्ययन गर्नुपर्नेमा जोड दिएको छ । युनिभर्सल पिस फेडेरेशन (युपिएफ) को आयोजनामा काठमाडौँमा दुई दिनसम्म चलेको सम्मेलनले आइतबार काठमाडौँ घोषणापत्र जारी गर्दै सशस्त्र द्वन्द्व शान्तिपूर्ण वार्तामार्फत सफल भएको नेपालको शान्ति प्रक्रियालाई ऐतिहासिक उपलब्धि भनी उल्लेख गरेको छ ।
सम्मेलनले मानवीय र पृथ्वीमाथिको अस्तित्व चुनौती बनेको जलवायु परिवर्तनसँगसम्बन्धी गम्भीर मुद्दालाई विश्व समुदायले प्रभावकारी र तत्कालै सम्बोधन गराउन पहल गर्र्नुपर्नेमा जोड दिइएकोे छ । सम्मेलनको समापन कार्यक्रममा नेपालका लागि भारतका पूर्वराजदूत केभी राजनले घोषणापत्र पढेर सुनाए । घोषणापत्रमा अझ शान्तिपूर्ण र समतामूलक तथा समावेशी विश्व व्यवस्था कायम गर्न विश्वव्यापी सुरक्षामा बढ्दो चुनौतीलाई ध्यानमा राख्नुपर्ने उल्लेख गरिएको छ ।
मन्त्रीलाई प्रभावमा पार्न व्यवसायीको चलखेल
श्रम समझदारी भएको एक महिनाभन्दा बढी हुँदा पनि मलेसियाको रोजगारी खुल्न सकेको छैन। यसको मुख्य कारण हो– ‘जुँगाको लडाइँ।’ कामदार निःशुल्क पठाउने समझदारी गरेका मन्त्री गोकर्ण विष्टबाट अवसरको फाइदा लिन केही व्यवसायीले चलखेलसमेत शुरु गरेका छन्। ‘कारबाही गरेका’ संरचनाका ठाउँमा आउने बाटो बनाउन तिनले दबाब दिने गरेको स्रोतले बतायो।
बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थाले अनावश्यक पैसा उठाएको भन्दै मन्त्रालयले जेठमा कारबाही गरेको थियो। मन्त्री विष्टकै निर्देशनमा तीमध्ये अधिकांशका सञ्चालक पक्राउ परेका थिए। तिनको मुद्दा विचाराधीन छ।
कात्तिक १२ गते श्रम समझदारी गर्दा मलेसियाले ती संरचना हटाउन मानेन। बरु सबैमा गरी लाग्ने करिब १८ हजार रुपैयाँ आफ्नै देशका रोजगारदातालाई तिराउन राजी भयो। त्यसलाई स्वीकार्न बाध्य भएका मन्त्री विष्टले तिनका ठाउँमा नयाँ व्यवसायी भिœयाउन चाहेको मन्त्रालय स्रोतले बतायो। यो आकर्षक कमाइ हुने व्यवसाय हो।, अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रधानमन्त्री ओली सम्मानित
युनिभर्सल पिस फाउण्डेसन (युपिएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ । काठमाडौंमा आइतबार सम्पन्न एशिया प्यासिफिक सम्मेलन– २०१८ को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एण्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो ।
पुरस्कारको राशि एक लाख डलर छ । कार्यक्रममा प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाका क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गर्नुभयो ।
असी वर्षमा नागरिकता
रुकुम पूर्वको भुमे गाउँपालिका– ६ महतका प्रवासी बुढाले ८० वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको घुम्ति शिविरमा बुढालाई नागरिकता वितरण गरिएको हो । “असी वर्षमा गाउँमै नागरिकता पाउँदा निकै खुशी लागेको छ”, उनले भने । नागरिकता नभएकै कारण उनी वृद्धभत्ताबाट समेत बञ्चित थिए ।
मेलम्चीको पानी छिट्टै राजधानीमा झार्ने प्रतिबद्धता
उपत्यकावासीको आशाको बिन्दु बनेको मेलम्चीको पानी ६० दिनमा राजधानीमा झार्ने खानेपानी मन्त्रालयले प्रतिबद्धता जनाएको छ । सअघि पनि पटकपटक मेलम्चीको पानी राजधानी झर्ने मिति मन्त्रालयले सार्दै आएको छ ।
वर्तमान सरकार गठन भएपछि खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री विना मगरले दशैँको उपहारस्वरुप राजधानीवासीका धारामा मेलम्चीको पानी दिने सार्वजनिक घोषणा गरेकी थिइन् । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले सम्पूर्ण काम ६० दिनमा सकेर सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी खसाल्ने प्रतिबद्धता व्यक्त गरे ।
घुस लिएको आरोपमा पक्राउ
गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा तारानाथ पौडेल लोकसेवा आयोगमा अहेवको परीक्षामा उत्तीर्ण गराउने प्रलोभन देखाई एक व्यक्तिसँग रु एक लाख घुस लिएको आरोपमा पक्राउ परेका छन् । उनलाई पोखरा महानगरपालिका–१० बुद्धचोकबाट आज साँझ ६ बजेतिर नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले जनाएको छ ।
डिस्को र दोहोरीमा जान उमेर निर्धारण
प्रहरीले १८ बर्षभन्दा कम उमेरका बालबालिकालाई केही मनोरञ्जनस्थल प्रवेशमा कडाई गर्ने भएको छ । प्रहरीले बालबालिकासम्बन्धी ऐन ०७५ लार्य कडाईका साथ लागु गर्न थालेपछि कामठाडौंका मनोरञ्जनस्थल डिस्को, पव, दोहोरी साँझ, लाउन्ज बारमा १८ बर्ष भन्दा कम उमेरकाले प्रवेश गर्न नपाउने भएका छन् ।
प्रकरहीका अनुसार अब डिस्को, पब, दोहोरी साँझ या लाउन्ज बार जान चाहनेले अनिवार्य रुपमा उमेर खुल्ने कागजात सँगै बोक्नुपर्नेछ । सोही कागजातका आधारमा मनोरञ्जनस्थल सञ्चालकले उनीहरुलाई प्रवेश गर्न दिनेछन् ।
कुनै सञ्चालकले कानुन् मिचेर कसैलाई छिराए प्रहरीले पक्राउ गरी कानूनबमोजिम कारबाही गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले बताए ।, नयाँ पत्रिकामा खबर छ ।
पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै सकियो लघुवित्त सम्मेलन
पन्ध्र बुँदे घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय लघुवित्त सम्मेलन सकिएको छ । घोषणापत्रले ‘स्वच्छ लघुवित्त, हाम्रो अभियान’ भन्ने नारालाई मूर्तरूप दिनका लागि परिणाममुखी कार्यमा केन्द्रित हुनुपर्ने र वित्तीय साक्षरतालाई सबै लघुवित्तले सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ ।
यस्तै लघुवित्तको पहुँच विस्तारमा अघि बढ्नुपर्ने, स्वास्थ्य तथा कर्जा बीमा कार्यान्वयनमा बीमा प्रदायक संस्थासँग समन्वय गर्ने, सदस्यलाई ऋणको भार पर्न नदिने गरी कर्जा प्रवाह गर्नुपर्ने, लघुवित्तले जीवनस्तरमा पारेको प्रभाव मापन गरी स्तरवृद्धि मापन कार्ड प्रदान गर्नेलगायत घोषणापत्रमा १५ बुँदा समेटेको छ ।