
काठमाडौं — युद्धप्रभावित अफगानिस्तानमा सुक्खाको समस्याका कारण मानवीय संकट अत्यन्तै खराब भएपछि मानिसहरू ऋण तिर्न र खाद्यसामग्री किन्नका लागि आफ्ना साना छोरीहरू बेच्न बाध्य भएका छन् ।
अफगानिस्तानको हेरात र बगदीज प्रान्तमा यूनिसेफले गरेको अनुमानअनुसार, एक महिनादेखि १६ वर्षसम्मका १६१ बालिकाहरूलाई विगत चार महिनामा बेचिएको छ ।
यूनीसेफकी प्रवक्ता एलिसन पार्करले जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै भनिन्, ‘अफगानिस्तानमा बालबालिकाको स्थिति खराब छ । जुलाईदेखि अक्टोबरसम्म गरिएको सर्वेक्षणमा बालिकाहरूलाई कि त टीकाटालो कि त बिहे गरियो कि ऋण तिर्नका लागि बेचियो ।’
उनले थपिन्, ‘सुक्खाभन्दा अघि ८० प्रतिशतभन्दा बढी परिवार ऋणको जालोमा फसेका छन् । राम्रो अन्न उत्पादन भएको भएर ऋण तिर्न सकिन्थ्यो होला तर त्यसो हुन सकेन । दुर्भाग्यवश बालिकाहरू अहिले ऋण तिर्ने माध्यम बनेका
छन् । टीकाटालो गरिएका केही बालिका त भर्खर जन्मेका पनि छन् । एघार वर्ष र त्यसभन्दा मुनिका बालिकाको विवाह नै भइसकेको छ । ती १६१ प्रभावित बालबालिकाहरूमा ६ चाहिँ बालक छन् ।’
अफगानिस्तानमा बालकहरूलाई जबर्जस्ती मजदूरी पनि गराइँदैछ । पार्करले अफगान समाजमा बालविवाहको जरो निकै गहिरो छ । जनसंख्याको ३५ प्रतिशतले बालविवाह गर्छन् ।
जेनेभा पुगेका अफगानी नागरिक समाजका सदस्यले पनि देशमा ससाना बालिकालाई बिहेका लागि बेच्ने काम भइरहेको स्वीकारे ।
एजेन्सी