
बुटवल–नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानीमहललाई थप आकर्षक बनाउन इको पार्क निर्माण गरिने भएको छ । पुरातात्विक महत्त्वको रानीमहलमा वातावरणमैत्री इको पार्क बनाउन लागिएको हो ।
यसका लागि प्रदेश ५ को पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रदेश सरकारका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री लिला गिरीले बताए ।
उनले रानीमहललाई प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेर नै प्रदेश सरकारले चासो दिएको जानकारी दिए ।
यस वर्षभित्र पार्कको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको पर्यटनमन्त्री गिरीले बताए । रानीमहललाई प्रदेश ५ कै प्रमुख पर्यटकीय स्थल बनाइने लक्ष्य अनुसार पहिलो चरणमा इको पार्क बनाउन लागिएको उनको भनाइ छ ।
प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा पर्यटनलाई थप प्राथमिकता दिइने र रानीमहललाई लुम्बिनीपछिको आकर्षक पर्यटकीय गन्तव्य बनाउने तयारी रहेको मन्त्री गिरीले बताए ।
रानीमहल क्षेत्रको पर्यटकीय सम्भाव्यता र सडक पूर्वाधारबारे मन्त्री गिरीसहित भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरी, प्रदेश सभा अन्तर्गतको उद्योग पर्यटन विकास समिति सभापति दधिराम न्यौपाने (एमएस), प्रदेश सांसद चेतनारायण आचार्य, सांसद नारायण आचार्य, सांसद वीरबहादुर राना, पाल्पा जिल्ला समन्वय समितिका सभापति दयाराज बस्याललगायत स्याङ्जाका प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरूको टोलीले स्थलगत अवलोकन गर्दै सम्भावना अध्ययन समेत गरेको छ ।
रानीमहलसम्म पुग्ने सडकलाई विस्तार र व्यवस्थित गर्न जरुरी देखिएको बताउँदै प्रदेश सरकारका प्रवक्ता चौधरीले सडककै अभावमा पर्यटकीय गन्तव्य ओझेल परेको उल्लेख गरे ।
पाल्पा सदरमुकाम तानसेनबाट करीब १४ किलोमिटर दूरीको सडकमध्ये ५ किलोमिटर पिच हुन बाँकी छ भने कालीगण्डकी कोरिडोरतर्फ ७ सय मिटर दूरीको चट्टानले रानीमहल पुग्ने बाटोमा अवरोध गरेको छ ।
यस्तै रानीमहललाई स्याङ्जासँग जोड्ने पक्की पुलको पाल्पातर्फको काम पनि पूरा भएको छैन । चट्टानलाई फुटाएर बाटो खुलेपछि र पुल निर्माण सकेपछि रानीमहलमा पर्यटक आगमनले फड्को मार्ने प्रदेश सरकारको दाबी छ ।
तत्कालीन जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा कालीगण्डकीको तटमै जग हालेर विशाल रानीमहल बनाएको इतिहासमा छ । कालिगण्डकीको किनारमा रहेको विशाल पत्थरबाट ठड्याएर दरबार बनाइएको छ । दरबारको एकातर्फ बुर्जाको जग कालीगण्डकी नदीमा नै रहेको र महलभित्र पानीपोखरी, मन्दिर, बगैंचा आदि रहेका छन् ।
५६ फिट चौडाई, ११२ फिट उचाइ भएको चारतले भवन १९५० मा शिलान्यास भई चार वर्षमा दरबार, मन्दिर र पाटीपौवा सहितको निर्माण कार्य पूरा भएको थियो । महल जीर्ण भएपछि ०७२ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पुरातत्व विभागले २ करोड ७२ लाख ३७ हजार २ सय ४७ रुपैयाँ लागतमा रानीमहलको पुननिर्माण गरेको थियो ।
पुनर्निर्माणपछि अहिले रानीमहल आकर्षक भएको छ । साविकको बौघागुम्बा गाविस वडा नं २ मा अवस्थित रानीमहल दरबार नेपालको ताजमहलका रूपमा समेत चिनिन्छ ।
रानीमहल दरबारको बायाँतर्फ शित्तलपाटी दरबार परिसरमा फोहोराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् ।
यो महल युनानी शैलीमा बेलायती इञ्जिनियरको डिजाइनमा बनाइएको हो । वरिपरि रहेको बगैंचा र रानीपोखरीले महललाई थप आकर्षक देखाउँछ । दरबारको मूलढोकाबाट कुँदिएको ढुङ्गा र इँट्टाबाट बनाइएका खुड्किलो तल सिधा कालीगण्डकी नदी कुण्डमा जोडिएको छ । प्रसिद्ध तीर्थ मुक्तिनाथ जाने मुख्यद्वार भएकाले तिर्थालुहरूलाई बस्ने सुविधासहितका पौवासमेत निर्माण गरिएको छ ।
पाल्पाको सदरमुकाम तानसेनबाट उत्तरपश्चिम करीब तीनघण्टा पैदल यात्राबाट रानीमहल पुग्न सकिन्छ । १९६०मा खड्ग शमशेरले श्री ३ को पदसहित शासनसत्ताको बागडोर आफूले सञ्चालन गर्न खोज्यो भन्ने षड्यन्त्रको छनक पाएपछि चन्द्र शमशेरले पाल्पामा थप सेना पठाई तैनाथी आफ्नो हातमा लिएका थिए ।
खड्ग शमशेरले आफूमाथि थप खतरा उत्पन्न हुने त्रासमा दरबारमा रहेका सबै बहुमूल्य वस्तु छाडेर तीन साँचो र सरकारी ढुकुटी लिई भारत पलायन भएपछि प्रेमको प्रतीक ठानिने रानीमहल बेवारिसे बन्न पुगेको थियो ।
दिवंगत रानीको सम्झनामा बनाइएकाले रानीमहल दरबारलाई प्रेमको प्रतीकका रूपमा लिने गरिन्छ । पछिल्ला केही वर्षयता यहाँ आन्तरिक र बाह्य दुवै खालका पर्यटकको आवागमन बढेको छ ।