
काठमाडौं — यमनमा हूती विद्रोहीविरुद्ध युद्ध गर्ने साउदी अरब र संयुक्त अरब अमिरातको गठबन्धनले ५० जना घाइते विद्रोहीहरूलाई उपचारका लागि ओमानको राजधानी मस्कट लगिने बताएको छ । उनीहरूलाई संयुक्त राष्ट्रसंघको विमानमा राखेर लगिने भएको हो ।
यमनका लागि राष्ट्रसंघीय दूत मार्टिन ग्रिफिथ्सले स्विडेनमा गर्ने भनिएको शान्तिवार्ताको तयारीका क्रममा सद्भावस्वरूप यो काम गर्न अनुरोध गरेपछि आजको घोषणा भएको हो ।
यमनमा विगत चार वर्षदेखि चलिरहेको युद्धका कारण संसारकै सबभनदा खराब मानवीय संकटको स्थिति आएपछि सम्झौताको वातावरण बनाउन विद्रोहीहरूलाई बाहिर लान खोजिएको छ ।
गत सेप्टेम्बर महिनामा शान्तिवार्ता तुहिनुमा घाइते विद्रोहीहरूको नियति सबभन्दा ठूलो कारण थियो ।
‘राष्ट्रसंघको एक चार्टर्ड विमान सोमवार सना अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ र ५० जना घाइते लडाकूलाई तीन यमनी चिकित्सक र एक राष्ट्रसंघीय चिकित्सकसँगै मस्कट लगिनेछ,’ गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले एक
वक्तव्य जारी गर्दै जानकारी दिए ।
अमेरिकाको समर्थन रहेको सैन्य गठबन्धनले मानवीय कारण तथा विश्वासको वातावरण निर्माणका लागि ग्रिफिथ्सको अनुरोधमा मेडिकल इभ्याकुएसको संयोजन गर्न सहमति जनाएका हुन् ।
हूती विद्रोही वा राष्ट्रसंघबाट यस विषयमा तत्काल प्रतिक्रिया प्राप्त भएन ।
अलजजीराबाट