
काठमाडौं– प्रदेश नम्बर ३ को स्थायी राजधानीको टुंगो भोटिङबाट लगाइने भएको छ ।
प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा सोमवार हेटौंडामा बसेको सर्वदलीय बैठकले प्रदेशको स्थायी राजधानी तोक्ने विषयलाई प्रक्रियामा लैजाने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।
‘स्थायी राजधानीको सम्भाव्यता अध्ययनका लागि प्रदेश सभाले अध्ययन समिति गठन गरेको थियो । समितिका तर्फबाट ५ वटा जिल्लाको नाम सिफारिस भएको छ । यस विषय अब भोटिङबाट टुंगो लाग्छ,’ मन्त्री जम्कट्टेलले लोकान्तरसँग भने ।
समितिले हाल अस्थायी राजधानी रहेको मकवानपुरसहित काभ्रे, भक्तपुर, चितवन र नुवाकोट जिल्ला राजधानी बनाउन उपयुक्त हुने भन्दै सिफारिस गरेको छ ।
स्थायी राजधानी तोक्न प्रदेश सभाको दुई तिहाइ बहुमत चाहिन्छ । सत्तारुढ नेकपासँग दुई तिहाइ बहुमत रहेपनि राजधानी कहाँ राख्ने भन्ने विषयमा नेकपाले निर्णय गर्न सकेको छैन ।
‘पार्टीमा अहिलेसम्म त्यस्तो निर्णय भएको छैन,’ उनले भने, ‘यो ह्वीप लाग्ने विषय होइन । स्वतन्त्र मतदान हुन्छ । पार्टीभित्र समझदारी भने हुनसक्छ । हामी अब छलफल गर्छौं ।’
प्रदेशको नामाकरण भने राजधानी टुंगो लागेपछि मात्रै हुने भएको छ । राजधानी टुंगो लगाएपछि मात्र नाममा छलफल हुने मन्त्री जम्कट्टेलले जानकारी दिए ।
सर्वदलीय सहमतिपछि सभामुखले समितिको प्रस्तावलाई छलफलमा लैजाने छन् । त्यसपछि भोटिङ हुनेछ ।