२३ असार २०८३, मंगलबार

बुटवल–झुम्सा खण्डमा टिप्पर र ट्रकलाई ओभरटेक गर्न निषेध

मंसिर १७, २०७५
बुटवल–झुम्सा खण्डमा टिप्पर र ट्रकलाई ओभरटेक गर्न निषेध

बुटवल–साविकका लुम्बिनी, गण्डकी र धौलागिरी अञ्चलका थुप्रै जिल्लाका सयौं गाउँहरु जोड्ने सिद्धार्थ राजमार्गका धेरै खण्डहरु जीर्ण बनेका छन् । विसं.२०२८ सालदेखि सञ्चालनमा आएको यो राजमार्गको बुटवल–तानसेन सडक खण्ड सबैभन्दा जोखिमयुक्त छ ।

त्यहीँ जोखिमयुक्त ठाउँमै सडक लगभग ध्वस्त जस्तै छ । राजमार्गको तानसेन–बुटवल ३९ किलोमिटर सडकखण्डको अवस्था भने निकै दयनीय छ । यहीँ सडकखण्डमा दुर्घटनाका दुस्चक्रहरु भइरहन्छन् । यहीँ खण्डमा यात्रा गर्नेदेखि साना ठूला गाडी गुडाउने चालकहरुसमेत त्राहीमामको अवस्थामा हुन्छन् । 

दुर्घटना न्यूनीकरण गर्ने उपायस्वरुप जिल्ला ट्राफिक प्रहरी कार्यालयले अहिले यहाँको करिब १० किलोमिटर सडक खण्डमा हेवी गाडीलाई ओभरटेक निषेध गरेको छ भने गतिको पनि सीमितता तोकेको छ । झुम्सा खोलादेखि बुटवलको चिडिया खोला पुलसम्मको खण्डमा आवतजावत गर्ने हेवी गाडी कुनैले पनि अब ओभरटेक गर्ने र बढीमा ३० किलोमिटर प्रतिघण्टाका दरले गाडी कुँदाउने छन् । 

हेवी लोडका र माल छाडेर खानीमा फर्किन लागेका टिप्परहरु बिहान ९ देखि १०: ३० सम्म यस्ता गाडीहरु मुख्य राजमार्गमा गुड्न नपाउनेसमेत नियम बनाइएको छ । बुटवललगायतका क्षेत्रमा समेत यो समयमा ट्राफिक अस्तव्यस्त बनाएको गुनासो आइरहेका बेलामा बुटवलसँगै जोडिएको सडक खण्डमा यो नियम बनाइएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले यस्तो नियमको सुरुआत गराएको हो ।  टिप्पर व्यवसायी, मजदुरहरु, नागरिक अगुवा र पत्रकारहरुको सहभागितामा यस्तो अभियानको शुभारम्भ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायव निरिक्षक डम्वर गिरीले जानकारी दिए । साविकका मस्याम, कचललगायतका गाविसबाट रूपन्देही र नवलपरासीका विभिन्न स्थानमा रहेका सिमेन्ट उद्योगका लागि चुनढुंगा, ढुंगा, गिट्टी, बालुवा, कोइला निकासी गर्दा प्रयोग हुने बढी भारवहन क्षमताका सवारीले राजमार्गको यो खण्ड क्षतविक्षत अवस्थामा छ । 

चुरे र हिमालय पर्वतको सिमानामा रहेका पहाडमा आधा दर्जन जति चुनढुंगा खानी छन् । अरु नयाँ पनि सञ्चालनको तयारीमा छन् । यिनै खानीहरुबाट दैनिक झण्डै चार सय टिप्परले माल ओसार्ने गर्छन् । यस्का अतिरिक्त यात्रुवाहक र पहाडी भेगमा मालसामान ढुवानी गर्नेसमेत गरी दैनिक चार हजारको संख्यामा सवारी गुड्ने गरेको तथ्यांक छ । 

करिब दुई सय किलोमिटर लामो सिद्धार्थ राजमार्ग प्रदेश नम्बर ५ को तराईलाई प्रदेश नं. ४ का पहाडी गाउँसँग जोड्ने मुख्य राजमार्ग हो । तर, यो राजमार्ग साँघुरो, अतिक्रमित र कमजोर बन्दै गएको छ । तानसेन–बुटवल सडकखण्डका यात्रु र सवारी चालकले निकै सास्ती खेप्नुपर्छ । दोभानदेखि सिद्धबाबा मन्दिरसम्म माथिबाट झर्ने ठूल्ठूला चट्टान र पहिरोका कारण यात्रु र चालकले वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्दै आएका छन् ।

सहकार्य गर्ने प्रतिबद्धता

यसैबीच यो सडक खण्डमा गुड्ने बस, ट्रक, टिप्परलगायतका साना–ठूला सवारी साधानहरुका व्यवसायीहरुले दुर्घटना न्यूनिकरण अभियानमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । टिप्पर व्यवसायी तोया लम्साल, पश्चिम नेपाल बस व्यवसायी समितिका रामचन्द्र भुसाल, श्रीनगर यातायात समितिका भविन्द्र गौतम, पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष भगवान भण्डारी, नागरिक अगुवा दलबहादुर गुरुङलगायतले दुर्घटना न्यूनीकरण अभियानमा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । पाल्पा ट्राफिकले होलाङ्दी–ढुंगाखानीमा वैकल्पिक मार्ग प्रयोग गराउनेदेखि टिप्परलाई टाइमकार्ड लागू गर्नेसम्मका काम सफलतापूर्वक सञ्चालन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्