२३ असार २०८३, मंगलबार

नेपालबाट गहुँको तस्करी, प्रहरीले बरामद गर्‍यो २५ बोरा बिउ

मंसिर १८, २०७५
नेपालबाट गहुँको तस्करी, प्रहरीले बरामद गर्‍यो २५ बोरा बिउ

विराटनगर– नेपाली कृषकले गहुँको बिउ पाउन मुस्किल परिरहेको बेला भारत तर्फ बिउ तस्करी हुने गरेको पाइएको छ । सशस्त्र प्रहरीले ठूलो परिमाणमा गहुँको बिउ नियन्त्रणमा लिएपछि सिजनमा बिउ तस्करी हुने गरेको पाइएको हो ।

सशस्त्र प्रहरीले नेपालबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा २५ बोरा गहुँको बिउ बरामद गरेको छ । शुक्रवार यता विराटनगरको रानी नाका हुँदै जोगवनीतर्फ लैजाँदै गरेको अवस्थामा सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बलले एनल २९७, एनल ९७१, आदित्य जातको गहुँको बिउ बरामद गरेको हो ।

४० किलोको दरले २५ बोरा गहुँको बिउ नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल राजश्व अनुसन्धान गुल्मका डीएसपी सुरेन्द्रराज रञ्जीतले बताए । नियन्त्रणमा लिइएको गहुँको बिउ विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।
साइकल, मोटरसाइकल, रिक्सा, ठेलालगायतका साधनमा लैजाँदै गरेको बिउको कुनै कागजात नभेटिएपछि नियन्त्रणमा लिएर भन्सार बुझाइएको रञ्जीतले बताए ।

भारततर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको गहुँको बिउ कहाँबाट लगिएको हो भन्ने नखुलेको सशस्त्र प्रहरीले जनाएको छ । नेपालमा भन्दा भारतमा  गहुँको बिउ महँगो पर्छ ।  नेपालमा २ हजार ६ सय पर्ने गहुँको बिउ भारतमा ४ हजारको हाराहारीमा पर्ने बताइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्