३१ असार २०८३, बुधबार

योगी भ्रमणबारे संघीय सरकारबाट प्रदेशलाई औपचारिक जानकारी, आएकै दिन फर्किने

मंसिर १८, २०७५
योगी भ्रमणबारे संघीय सरकारबाट प्रदेशलाई औपचारिक जानकारी, आएकै दिन फर्किने

जनकपुरधाम – भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर आउने पक्कापक्की भएको छ ।

संघीय सरकारका परराष्ट्र सचिव शंकरदास बैरागीले प्रदेश सरकारलाई योगीको भ्रमणबारे औपचारिक जानकारी गराएका छन् ।

परराष्ट्र सचिव बैरागीले मंगलवार प्रदेश सरकारका प्रमुख सचिव दीपक सुवेदीलाई टेलिफोन गरेर योगी भ्रमणबारे जानकारी गराएका छन् । ‘परराष्ट्र सचिव ज्यूले मलाई टेलिफोनमार्फत् उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउँदो मंसिर २६ गते जनकपुरधाम जन्ती बनेर आउनुहुने जानकारी दिनुभयो,’ प्रमुख सचिव सुवेदीले लोकान्तरसँग भने, ‘उहाँ रामजानकी विवाह पञ्चमीमा जन्ती बनेर निजी विमानबाट २६ गते आउनुहुने र वैवाहिक कार्यक्रममा सहभागी भएपश्चात् सोही दिन फर्किनुहुनेछ भनेर फोनमा मंगलवार औपचारिक जानकारी गराउनुभएको छ ।’

योगी भ्रमणको लिखित जानकारी नआएपनि टेलिफोनमार्फत् संघीय सरकारद्वारा योगीको भ्रमण सुनिश्चित भएपछि प्रदेश सरकारले योगी भ्रमणको तयारी तीब्र बनाएको छ । ‘योगी ज्यूको भ्रमणबारे परराष्ट्र मन्त्रालयले जानकारी गराइसकेपछि उहाँको सम्मान र स्वागतका लागि हामीले आफ्नो तयारीलाई फास्ट ट्रयाकमा अगाडि बढाएका छौं,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरिराज फुयालले लोकान्तरसँग भने, ‘मुख्यमन्त्री योगीसहित ५ सय १ जना साधुसन्तको जन्ती जनकपुर आउँदैछ ।’

योगीसहित साधुसन्तको टोलीसँगै प्रदेश सरकारका मन्त्री, सचिव, कर्मचारी, स्थानीय तहका प्रतिनिधि, गन्यमान्य व्यक्ति समेत गरी १५ सय जनालाई दिवाभोज गराउने तयारी प्रदेश सरकारले गरिरहेको फुयालले बताए ।

प्रदेश सरकारको सचिवालय रहेको मधेश भवनको फूटबल मैदानमा टेन्ट र पन्डाल लगाउने काम शुरू भइसकेको छ । मुख्यमन्त्री योगीलाई जनकपुर विमानस्थलमा स्वागत गर्न प्रदेश सरकारका कुन मन्त्री वा मुख्यमन्त्री लालबाबु राउत आफैं जाने भन्नेबारे टुंगो लागेको छैन । ‘भोलि (बुधवार) बस्ने प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट नै त्यसको टुंगो लाग्ने छ,’ सचिव फुयालले भने ।

योगी आउने भएपछि संघीय सरकारको पनि कुनै न कुनै मन्त्री तहको प्रतिनिधि जनकपुरधाम आउने तय भएपनि कुन मन्त्री आउनेबारे तय हुन नसकेको फुयालले बताए ।

मुख्यमन्त्री योगी आउने भएपछि प्रदेश सरकारले जानकी मन्दिर र रंगभूमि मैदान बारह बिघामा बुधवार बृहत सरसफाईको कार्यक्रम राखेको छ । योगी भ्रमणका क्रममा सुरक्षा कसरी दिने भन्नेबारे समेत तीनै तहका सुरक्षा अंगका डीआईजी र धनुषाका सीडीओसँग सघन रूपमा प्रदेश सरकारले छलफल गरिरहेको बताउँदै फुयालले भने, ‘उच्च सुरक्षा दिनेबारे कुनै बिबाद नै भएन । ३ तह वा २ तहको सुरक्षा दिने भन्नेबारे हामी सुरक्षा निकायका तीनै तहका डीआईजीसँग गृहकार्य नै गरिरहेका छौं ।’

‘योगी विमानस्थलबाट सिधै प्रदेश सरकारको परिसर मधेश भवनमा आउने, त्यहाँ हाम्रो प्रदेश सरकारले उहाँलाई स्वागत र सम्मान गर्नुका साथै उहाँको सम्मानमा दिवाभोज आयोजन गरेको छ,’ फुयालले भने । त्यसपछि रंगभूमि मैदानमा आयोजित स्वयम्बरमा सहभागी हुने र सोही दिन फर्किने कार्यक्रम रहेको भएपनि ती कार्यक्रमको समयतालिका परिवर्तन पनि हुन सक्ने फुयालले बताए ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले भने, ‘गत बिमस्टेक सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा हाम्रो प्रधानमन्त्री केपी शर्मा ओली ज्यूले मोदीजीलाई जन्ती बनेर आउन निमन्त्रणा गर्नुभएको थियो ।’ तर मोदीजी नआउने भएपछि उनको ठाउँमा संघीय सरकारकै आमन्त्रणमा योगी जन्ती बनेर आउन लागेका महन्थ वैष्णवले बताए । जानकी मन्दिरले पनि योगीलाई सम्मान र स्वागत गर्ने कार्यक्रम तय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्