
काठमाडौं–पार्टीको प्रस्तावित विधान संशोधनका विषयमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा छलफल जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकमा केन्द्रीय सस्यहरुले आफ्नो धारणा राखेका छन् भने यो क्रम शनिबार पनि जारी रहने छ ।
बैठक शनिबार बिहान ९ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । मंसिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा उक्त मस्यौदामाथि छलफल जारी छ ।
शुक्रबारको बैठकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, प्रकाशमान श्रेष्ठ, दिपक गिरी, अजयकुमार चौरसिया, किशोरसिंह राठौर, मोहनबहादुर बस्नेत तथा केन्द्रीय आमन्त्रित सदस्य आनन्द विष्ट र अमरसिंह पुनले आ–आफ्नो धारणा राखे । कांग्रेसले पार्टीको विधानलाई संघीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ ।
यसैबीच, शुक्रबारको बैठकले प्रधानमन्त्रीले हालै एक टेलिभिजनको कार्यक्रममा व्यक्त गर्नुभएको शब्दहरूप्रति असहमति प्रकट गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरणका दोषीहरूलाई कारवाहीको कठघरामा ल्याउन पनि बैठकले सरकार समक्ष माग गरेको छ ।