३१ जेठ २०८३, आइतबार

मोबाइलमै व्यस्त ‘डिजिटल प्रदेश’ कर्णालीका प्रविधिमैत्री मुख्यमन्त्री !

मंसिर २२, २०७५
मोबाइलमै व्यस्त ‘डिजिटल प्रदेश’ कर्णालीका प्रविधिमैत्री मुख्यमन्त्री !

सुर्खेत – केही दिनअघि सुर्खेतमा आयोजित कार्यक्रमका प्रमुख अतिथि थिए कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही । 

अन्य अतिथिको हातमा डायरी र कलम भएपनि मुख्यमन्त्री शाहीको हातमा सामसङ ब्राण्डको ग्यालेक्सी मोबाइल थियो । अन्य वक्ताले बोलिरहँदा मुख्यमन्त्री शाही मोबाइलमा औला दौडाइरहेका थिए ।

दैलेख जिल्लामा मंसिर १९ गते गरिएको कार्यालय प्रमुखसँगको अन्तक्र्रिया कार्यक्रममा पनि मुख्यमन्त्री मोबाइल चलाउनमै व्यस्त देखिए । त्यहाँ पनि अन्य अतिथि डायरी र कलम चलाइरहँदा उनी मोबाइल नै चलाइरहे ।
मुख्यमन्त्रीले मोबाइल चलाइरहेको देखेपछि धेरैले कानेखुशी गर्न थाले । अनुमान लगाउन थाले – फेसबुक बन्द गर्छु भन्ने मुख्यमन्त्री आफैं फेसबुक चलाउनमै व्यस्त पो छन् कि ?

मंसिर २० गते वीरेन्द्रनगरमा आयोजना गरिएको नेपाल पत्रकार महासंघको २३ औं साधारण सभामा पनि उनले त्यही प्रवृत्ति दोहोर्याए । हरेक कार्यक्रममा मुख्यमन्त्री मोबाइल चलाउनमै व्यस्त रहेको देखिनु आश्चर्यजनक लाग्यो ।

हरेक कार्यक्रममा उनको ध्यान मोबाइलमै हुनुलाई अनौठो रुपमा लिनु स्वभाविक पनि हो । कार्यक्रमका प्रमुख अतिथि नै महत्त्वपूर्ण कार्यक्रममा मोबाइल चलाएर बस्ने नराम्रो मान्नेको ठूलै जमात पनि छ । सबैले मुख्यमन्त्री सामाजिक सञ्जाल चलाएर बसिरहेको अड्कल काट्छन् ।

महासंघको कार्यक्रममा उद्घाटनपश्चात् मुख्यमन्त्री शाहीले खल्तीबाट मोबाइल निकाले र सोझै नोटबुक खोल्न भ्याए । मोबाइलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यक्रममा अरुले बोलेका कुराको फटाफट टिपोट गरिरहेका रहेछन् । कार्यक्रम चलिरहँदा मुख्यमन्त्रीले सामाजिक सञ्जाल चलाएर बस्ने अनुमान गलत रहेछ ।

कार्यक्रममा प्रदेश सरकार र आफ्ना विषयमा उठेका जिज्ञासालाई बुँदागत रुपमा टिपोट गरेर मुख्यमन्त्री शाहीले जवाफ फर्काउने गरेको भेटियो । उनले आफूलाई हतार भएको बताउँदै कार्यक्रमको बिचमै मन्तव्य राखेर कार्यालयतिर गए ।

कार्यालयमा भेटिएका मुख्यमन्त्री शाहीले भने, ‘हामीले कर्णालीलाई डिजिटल प्रदेश बनाउने सपना देखेका छौं । डिजिटल प्रदेश निर्माणको लागि हामी आफैंबाट डिजिटलाइज प्रविधि प्रयोग गर्न जरुरी छ । त्यहीँ सोचका साथ म हरेक कार्यक्रममा कापी र कलमको प्रयोग गर्नुको सट्टा मोबाइल नै प्रयोग गर्छु । जसले मलाई प्रविधिमैत्री बनाएको छ ।’

उनले अगाडि थपे, ‘मैले सामाजिक सञ्जाल नै चलाउँदिनँ । यहाँहरूले हेर्न सक्नुहुन्छ सामाजिक सञ्जालमा म धेरै कुरा राख्न वा सूचना शेयर गर्न मन पराउँदिनँ । तपाईलाई लाग्न सक्ला म सामाजिक सञ्जाल चलाएर बसेको भन्ने तर त्यसो होइन । मैले कार्यक्रममा सहभागीले बोलेका राम्रा कुरा टिप्ने र आफूले बोल्ने कुरा बुँदागत रुपमा टिप्ने गरेको छु ।’

मुख्यमन्त्री शाहीले अबको युग विकास र प्रविधिको भएको बताए । ‘दुनियाँ प्रविधिको प्रयोग गरेर धेरैमाथि गइसकेको छ,’ उनले भने, ‘हामीले डोजर आइसकेको बेलामा अझै पनि कुटोले खनेर भौतिक पूर्वाधारको विकास गर्न सक्दैनौं । त्यसैले मैले कर्णालीको विकासका लागि प्रविधिको अधिकतम् उपयोग गर्नुपर्छ भन्ने मान्यता राख्छु र सोही बमोजिम हामीले मन्त्रिपरिषद्को बैठक पेपरलेस गराएका छौं ।’

उनले आफूले विगत ६ वर्षदेखि नै मञ्चमा कापी र कलम लिन छोडेको बताए । ‘हातमा अत्याधुनिक सुविधा सहितको मोबाइल छ । केही कुरा आवश्यकता अनुसार टिप्न, सुरक्षा गर्न सहज हुन्छ,’ उनले भने, ‘डायरी हराउने, भनेको बेला खोज्न नसकिने, सधैं बोक्न नसकिने हुन्छ । तर मोबाइलमा सेभ गरिएर राखिएको हुँदा मोबाइल हराएको खण्डमा बाहेक अन्य बेला आफूलाई चाहिएको कुरा हेर्न सजिलो हुन्छ । त्यसैले मैले विगतदेखि नै मोबाइल, ट्याब तथा कम्प्यूटरको प्रयोग गर्दै आइरहेको छु ।’

मुख्यमन्त्री शाहीले सबैले प्रविधिको अधिकतम प्रयोग गरेर जानुपर्नेमा जोड दिए । ‘जति पनि प्रविधि आएको छ । त्यसलाई विकास निर्माणमा अधिकतम् प्रयोग गर्ने बानी बसालौं,’ उनले भने, ‘अनि मात्र हामीले देखेको समृद्धि आउन सक्छ ।’

salt training

कमेन्ट गर्नुहोस्