०६ साउन २०८३, बुधबार

भारतबाट आउने जन्तीलाई नाकामै पुगेर स्वागत गर्न कांग्रेस कार्यकर्तालाई निधिको निर्देशन

मंसिर २२, २०७५
भारतबाट आउने जन्तीलाई नाकामै पुगेर स्वागत गर्न कांग्रेस कार्यकर्तालाई निधिको निर्देशन

जनकपुरधाम– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले जनकपुरधाममा भइरहेको सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महामहोत्सवलाई सफल पार्न धनुषा कांग्रेसलाई निर्देशन दिएका छन् । 

भारतको अयोध्याबाट आउने जन्तीलाई धनुषाको सीमावर्ती नाका जटहीमैं पुगेर स्वागत गर्न कार्यकर्तालाई निधिले निर्देशन दिएका हुन् । 

जन्तीका रुपमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि जनपुर आउने कार्यक्रम तय भएको छ ।

दुई नम्बर प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव र कांग्रेस धनुषाका सभापति महेश शंकर गिरिलाई निधिले विवाह पञ्चमी महोत्सवलाई सफल पार्न जनकपुरमा समेत कांग्रेसका कार्यकर्तालाई परिचालन गर्न निर्देशन दिएको निधिका स्वकीय सचिब बिश्वास बिक्रमले बताए । 

‘टेलिफोन गरेर आज उपसभापति ज्यूले रामसरोज यादव र महेश शंकर गिरि ज्यूलाई निर्देशन दिनु भएको हो,’ विक्रमले लोकान्तरसंग भने,‘बिबाह पञ्चमीका दिन मंसिर २६ गते उहाँ आफैं पनि जनकपुरधाममा उपस्थित भई सहभागी हुने कार्यक्रम समेत तय गरिएको छ ।’ 

भारतको अयोध्याबाट जन्तीहरू हाती, उँट र घोडा चढेर धनुषाको जटही स्थित नाका भएर जनकपुरधाम आउँनेछन् । उक्त नाका धनुषाको संसदीय निर्बाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्दछ । निधि त्यही क्षेत्रबाट निर्बाचन लड्दै आएका छन् । यस पटक प्रतिनिधि सभामा उनी पराजित भएका थिए भने राजपाका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो निर्बाचित भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्