१६ असार २०८३, मंगलबार

विरोध गर्नेहरुलाई हामी कामबाट जवाफ दिन्छौं–ओली

मंसिर २२, २०७५
विरोध गर्नेहरुलाई हामी कामबाट जवाफ दिन्छौं–ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

नेपाल प्रगतिशिल इन्जिनियर एशोसिएसनका पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले इन्जिनियर पेशलाई मर्यादित बनाएर यसको विश्वसनियता बढाउनु पर्नेमा जोड दिनुभएको छ । सरकार इन्जिनियरको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक तोक्न सकारात्मक रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

“तपाईंहरुको पोगत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ” प्रधानमन्त्री ओलीले भन्नुभयो । राष्ट्रिय आकांक्षालाई वर्तमान सरकारले समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यको रुपमा अघि बढाएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

“समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि सुशासन र विकास पहिलो सर्त हो” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसमा सरकार प्रतिवद्ध छ । सरकारको यस अभियानमा इन्जिनियरहरुको साथ सहयोग जरुरी छ ।” वर्तमान सरकार जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्न प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

“सरकारले जनताले दिएको अभिमतलाई सम्मान गर्दै उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गरिरहेको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “केही मानिसहरुले विरोध गरेका छन् । त्यसलाई हामी कामबाट जवाफ दिन्छौं । ”

प्रधानमन्त्रीलाई भेट्न एशोसिएसनका अध्यक्ष शम्भू बहादुर श्रेष्ठको नेतृत्वमा आएको टोलीले विभिन्न मागहरु सहितको ज्ञापन पत्र बुझाएको छ । प्रधानमन्त्री ओलीले इन्जिनियरका जायज माग पुरा गर्न आफू सकारात्मक भएको बताउनुभएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्