
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही मङ्सिर २९ गते स्थायी समितिको बैठक आह्वान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालयको बैठकले पार्टी कार्यालय धूम्रराहीमा १ बजे स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । सचिवालयले गरेका पछिल्ला निर्णय जानकारी गराउने, पार्टी र सरकारको काम कारवाहीको समीक्षाका लागि उक्त बैठक बस्न लागेको हो ।
यसैबीच, पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले समयमा बैठक प्रारम्भ नभएको भन्दै बैठकस्थलबाट बाहिरिएका थिए । शीर्ष चार नेताले बैठक बहिष्कार गरेपछि नेकपा भित्रको विवाद छताछुल्ल भएको छ ।
आफूहरु अपमानित भएको महसुस गरेको उनीहरुले प्रतिकृया दिएका छन् । सांगठनिक एकीकरणलाई लिएर शुरु भएको नेपाल कम्युनिष्ट पार्टीको विवाद शीर्ष नेताबीच नै विभाजित हुने अवस्थामा आइपुगेको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्ष्कमल दाहालले एकलौटीरुपमा पेलेर अगाडि बढेको आरोप लगाई सचिवालयका चार नेता समयमै बैठक नभएकाले सहभागी नै नभई बाहिरिएका हुन् ।
प्रदेशको पदाधिकारी र प्रदेश कमिटी चयनमा अध्यक्षद्वय ओली र प्रचण्डले एकलौटी निर्णय गरेको भन्दै नेकपामा असन्तुष्टि छ । महासचिव पौडेलका अनुसार अध्यक्षद्वय परामर्शमा रहँदा केही मिनेट मात्रै सचिवालयको बैठक ढिलो हुन गएको हो ।
हत्यारा विधिसम्मत ढंगले सार्वजनिक हुन्छन्–उपप्रधानमन्त्री
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई सरकारले पत्ता लगाइसकेको र केहि दिनमै सार्वजनिक गर्ने बताएका छन् । निर्मलाका हत्यारालाई सरकारले विधिसम्मत ढंगले सार्वजनिक गर्ने उनको भनाइ छ ।
काठमाडौंमा भएको कार्यक्रममा मन्त्री पोखरेलले अब राजनीतिक दलहरु नै हत्याराको संरक्षणमा अघि सर्ने संभावना पनि रहेको बताए । प्रतिपक्षी दलका नेता र कुनै अखबारको स्तम्भकारले जसरी सरकारले बोल्न नमिल्ने भन्दै उनले सरकारको नजरबाट कोही पनि अपराधी उम्कन नसक्ने दाबी गरे ।
तर, नेपाल मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद अर्यालले निर्मला पन्त बलात्कार र हत्यामा सरकार ‘नव युवराज’लाई जोगाउन लागिपरेको दाबी गरेका छन् । राजधानीमा भएको कार्यक्रममा उनले प्रहरीले बनाएका नयाँ अभियुक्त नक्कली भएको आशंका बलियो रहेको बताए ।
दर्ता प्रमाणपत्र परीक्षामा आधाभन्दा कम उत्तीर्ण
नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सा दर्ता प्रमाणपत्र परीक्षामा ४४ दशमलव ५६ प्रतिशत परीक्षार्थीमात्र उत्तीर्ण भएका छन् । काउन्सिलले शनिबार लिएको दर्ता प्रमाणपत्र परीक्षामा एमबिबिएसतर्फ सहभागी भएका एक हजार ३११ मध्ये ५९८ र बिडिएसतर्फ सहभागी भएका १८६ मध्ये ६९ मात्र उत्तीर्ण भएको हो ।
विश्वविद्यालयबाट एमबिबिएस र बिडिएस तहको अध्ययन पूरा गरेपछि चिकित्सा दर्ता प्रमाणपत्र लिन अनिवार्य रुपमा काउन्सिलले लिने परीक्षा उत्तीर्ण हुनुपर्छ ।
विरोध गर्नेलाई कामबाट जवाफ दिन्छौंः प्रधानमन्त्री
सरकारले आफ्नो विरोध गर्नेलाई कामबाट जवाफ दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मानिसले सरकारको विरोध गरेको उल्लेख गर्दै कामबाट उनीहरुलाई जवाफ दिने बताउनु भएको हो ।
नेपाल प्रगतिशील इञ्जिनियर एशोसिएशनका पदाधिकारीसँग शनिबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले जनताको जनमतको सम्मान गर्दै सरकारले काम गरिराखेको बताउनुभयो । प्रधानमन्त्री ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी सरकारले काम गरिरहेको दाबी गर्नु भयो ।
कांग्रेस केन्द्रीय समिति बैठक
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पदाधिकारीको संख्या थप्न बहुसंख्यक केन्द्रीय सदस्यले माग गरेका छन् । पदाधिकारी थप्ने र नथप्ने दुई कित्तामा विभाजित संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पदाधिकारी थप्नु उचित नै हुने तर पदाधिकारी थप्दा समावेशी प्रतिनिधित्वको आधारमा हुनुपर्ने अडानमा छन् ।
गत हप्तादेखि जारी केन्द्रीय समिति बैठकमा विधानमाथि धारणा राख्ने क्रममा पौडेल पक्षका केन्द्रीय सदस्य सबै पदाधिकारी थप्नुपर्ने भएपनि सभापति देउवा पक्षका माथिल्लो तहका नेताहरु पदाधिकारी थप्ने पक्षमा छैनन् । पदाधिकारी थप्ने पक्षमा रहेकाहरुले पनि समावेशी बनाउनुपर्ने बताइरहेका छन् ।
एघार जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र
सरकारले चालू आर्थिक वर्षको पाँच महीनामा विभिन्न ११ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । चालू आवको हालसम्म अनुमतिपत्र दिइएका आयोजनाको क्षमता एक हजार ३८७ मेगावाट रहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म १९० आयोजनालाई त्यस्तो अनुमतिपत्र दिएको छ । विभागकाअनुसार हालसम्म सात हजार २६३ मेगावाट क्षमताका आयोजनाले त्यस्तो अनुमति लिएका छन् ।
प्रहरीलाई घुस दिन खोज्ने पक्राउ
काठमाडौँ महानगरपालिका– ९ काँडाघारीमा प्रहरीलाई घुस दिन खोज्ने तीन जना पक्राउ परेका छन् । पक्राउपर्नेमा नुवाकोट खड्कभञ्ज्याङ– ३ का २२ वर्षीय प्रज्वल तामाङ, सोही ठाउँ बस्ने रामेछाप फुपा– ७ का २३ वर्षीय सुजन श्रेष्ठ र काभ्रेका राजाराम दनुवार रहेका छन् ।
काँडाघारी चोकमा प्रहरीले बा२४प ८७८९ नंको मोटरसाइकल जाँच गर्ने क्रममा मादक पदार्थ पिएर मोटरसाइकल चलाएको र कागजपत्रसमेत नभएकाले आवश्यक कारवाही गर्न खोज्दा तामाङ र श्रेष्ठले घुस दिन खोजेको प्रहरीले जनाएको छ ।
नेकपा कर्णाली प्रदेशको प्रथम बैठक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीले एकताको सन्देश बस्ती–बस्तीसम्म पु¥याउन एकमहिने अभियान थाल्ने निर्णय गरेको छ । शनिबार सम्पन्न नेकपाको पहिलो बैठकले पार्टीका केन्द्रीय तथा प्रदेश सदस्य र प्रदेशसभा सदस्यहरुको संयुक्त टोली बनाएर एकमहिने अभियान सञ्चालन गर्ने निर्णय गरिएको प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले जानकारी दिए ।
उनका अनुसार बैठकबाट पार्टीका प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवसँग समन्वय गरी दुवै पार्टीका प्रदेशसभा संसदीय दलको संयुक्त बैठक गरी दल एकीकरण गर्ने निर्णय गरिएको छ । बैठकले साबिक एमाले र माओवादी केन्द्रका सङ्गठित सदस्यहरुको तथ्याङ्क अभिलेखीकरण, चलअचल सम्पत्तिको एकीकृत व्यवस्थापन, प्रदेश कार्यालय स्थापना तथा व्यवस्थापन र बैंक खाता सञ्चालन गर्ने निर्णय गरेको छ ।
श्रृङ्खला मिस वर्ल्डको टप १२ मै सीमित
नेपालकी श्रृङ्खला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् । उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेका थिए ।
यसैबिच, यो वर्षको मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोले जितेको छ । अन्तिम ५ मा छानिएका थाइल्याण्ड, युगाण्डा, मेक्सिको, बेलारुस र जमैकामध्ये निर्णायक मण्डलको मन जित्दै मेक्सिकोकी सुन्दरी भेनेसा देलिओनले मिस वर्ल्ड २०१८को ताज पहिरिएकी हुन् ।
विराटनगरको विजयी शुरुवात
करण केसीको उत्कृष्ट ब्याटिङसँगै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा विजयी शुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको उद्घाटन खेलमा ललितपुर प्याट्रियर्सलाई तीन विकेटले पराजित गर्दै विराटनगरले विजयी शुरुवात गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले पूरै २० ओभरमा नौ विकेट गुमाएर १०४ रनको मध्यम स्कोर बनाएको थियो । एक सय ५ रनको विजयी लक्ष्यमा विराटनगरले दुई बल बाँकी हुँदा पूरा ग¥यो । जितसँगै विराटनगरले दुई अङ्क जोडेको छ ।
लिगअन्तर्गत आइतबार पहिलो खेलमा ललितपुर प्याट्रियस र चितवन टाइगर्स तथा दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजले खेल्नेछ ।