
सुर्खेत- मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गत असोज ९ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयहरुमा गरिएको तालाबन्दी नेकपा निकट विद्यार्थीहरुले आइतबार तोडेका छन् ।
एमयुको पाँच ओटा डिन कार्यालय, रजिष्ट्रारको कार्यालय, विश्वविद्यालयको सम्पर्क कार्यालय तथा उपकुलपतिको कार्यालय, अन्र्तराष्ट्रिय सम्पर्क र कुटनीति कार्यालय र मुलगेटमा लगाइएको ताला फोडेका हुन् ।
नेपाली काँग्रेस निकट रहेको नेपाल विद्यार्थी संघको एक खेमाका विद्यार्थीले गरेको तालाबन्दी आज फोडिएको हो । नवनियुक्त रजिष्ट्रारद्धारा पद बहाली विश्वविद्यालयका नव नियुक्त रजिष्ट्रार याम बहादुर कार्कीले आइतबार नै पद बहाली गरेका छन् । उनले पदबहाली गरेसँगै सञ्चारकर्मीसँगको कुराकानीमा विश्वविद्यालयको अहित हुने काम नगर्ने प्रतिबद्धता जनाएका छन् । उनले विश्वविद्यालयमा धेरै चुनौती देखा परेको बताउँदै सबैलाई मिलाएर लैजाने बताए ।
‘मैले जिन्दगीमा अहिलेसम्म पाँच ओटा जागिर खाएको छु । सबैभन्दा मेरो यो कार्यकाल चुनौतीपूर्ण रहेको छ ।’ उनले भने, ‘तर त्यो चुनौतीलाई वार्ता, छलफल र सहकार्यका माध्यमबाट समाधान गर्नेछु ।’ रजिष्ट्रार कार्कीले विश्वविद्यालयलाई सबैको अपनत्व हुनेगरी विकास गरेर लैजाने बताए ।
‘कुनै एक गुटको, एक खेमाको अधिनमा राखेर विश्वविद्यालय अघि बढदैन ।’ उनले भने, ‘सबै राजनीतिक दल, समाजसेवी, विद्यार्थीलाइृ आफ्नो विश्वविद्यालय, हाम्रो विश्वविद्यालयको रुपमा स्थापित गर्न मेरो अभियान हुनेछ र त्यसमा सफलता पाउनेमा आशावादी छु ।’ रजिष्ट्रार कार्कीले आफुले विश्वविद्यालयलाई शैक्षिक केन्द्रको हवका रुपमा विकास गर्न सबैसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।