०३ साउन २०८३, आइतबार

केरुङ–काठमाडौं रेलमार्ग : चिनियाँ टोलीले आज अध्ययन प्रतिवेदन बुझाउने

मंसिर २४, २०७५
केरुङ–काठमाडौं रेलमार्ग : चिनियाँ टोलीले आज अध्ययन प्रतिवेदन बुझाउने

काठमाडौं– केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन उच्चस्तरीय चिनियाँ टोलीले सोमबार नेपाललाई बुझाउँदै छ । प्रतिवेदन बुझाउन चिनियाँ टोली आइतबार काठमाडौैं आइपुगेको छ । 
केरुङ–काठमाडौँ रेलमार्ग निर्माणका लागि गरिएको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाउन तथा उक्त रेलमार्ग निर्माणबारे विस्तृत् छलफल गर्न उच्चस्तरीय चिनियाँ टोली काठमाडौँ आइपुगेको हो । नेशनल रेल्वे अथोरिटी चाइनाका उपप्रशासक आन लुसुङको नेतृत्वमा १५ सदस्यीय प्राविधिक टोली आइतबार साँझ काठमाडौँ आइपुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुुुसुदन अधिकारीले जानकारी दिए । 

जेठ ६ गते नेपाल आएका चिनियाँ प्राविधिक अधिकारीहरूले रेल विभागको संयोजकत्वमा उक्त रेलमार्गको प्रारम्भिक अध्ययन शुरु गरेका थिए । प्रतिनिधिमण्डलले सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार आयोजना हुने कार्यक्रमबीच प्रस्तावित उक्त रेलमार्गबारे गरिएको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरण गर्नुका साथै आगामी दिनमा उक्त परियोजनालाई के कसरी अगाडि बढाउनेबारे छलफल गरिने सचिव अधिकारीले बताए ।

त्यसैगरी मङ्गलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र चिनियाँ प्रतिनिधिमण्डलबीच छलफल हुने कार्यक्रम तय भएको छ । बैठकमा रेलमार्गको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) निर्माण, मोडेल लगयातका विषयमा बृहत् छलफल हुने बताउँदै सचिव अधिकारीले बैठकपछि प्रतिनिधिमण्डलले प्रस्तावित केरुङ–काठमाडौं रेलमार्ग र काठमाडौँ–पोखरा रेलमार्ग क्षेत्रको स्थलगत भ्रमण गर्ने कार्यक्रम तय भएको जानकारी दिए । चिनियाँ प्रतिनिधिमण्डल शुक्रबार स्वदेश फर्कने छन् ।

कुल १७१ किलोमिटर लामो प्रस्तावित पोखरा–काठमाडौँ रेलमार्ग निर्माणका लागि चीनको सरकारी कम्पनी ‘चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड’ले यसअघि नै सम्भाव्यता अध्ययन गरिसकेको छ । यो रेलमार्ग काठमाडौँको टोखाबाट सुरु भई गल्छी–कुरिनटार–आँबुखैरेनी–डुम्रे–दमौली–दुलेगौँडा हुँदै पोखरासम्म पुग्ने प्रस्ताव गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्