२८ जेठ २०८३, बिहीबार

योगी आउने भएपछि जनकपुरमा सुरक्षा व्यवस्था कडा

मंसिर २४, २०७५
योगी आउने भएपछि जनकपुरमा सुरक्षा व्यवस्था कडा

जनकपुरधाम – भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने भएपछि जनकपुरधामको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

जारी सीताराम विवाह पञ्चमी महोत्सवमा सहभागी हुन जन्ती बनेर मंसिर २६ गते जनकपुरधाम आउन लागेका योगीको भ्रमणका साथसाथै दर्शनार्थी भक्तजनको समेत सुरक्षा व्यवस्थाका लागि भन्दै करीब ३ हजारभन्दा बढी सुरक्षाकर्मी जनकपुरधाममा परिचालन गरिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रदीपराज कणेलले लोकान्तरसँग भने, ‘भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र सहभागी हुने लाखौं श्रद्धालु भक्तजनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ३ हजारभन्दा बढीको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।’ नेपाली सेनाको टोलीलाई रिजर्भ फोर्सको रूपमा तैनाथ गरेर राखिएको सीडीओ कणेलले बताए ।

नेपाल र भारतबीच खुला सीमा भएका कारण सीमामा समेत सुरक्षा व्यवस्था कडा बनाइएको छ । ‘मैले आफैं पनि भारत बिहारको मधुवनी जिल्लाका डीएमसँग सुरक्षा व्यवस्थाका लागि कुरा गरिसकेको छु,’ सीडीओ कणेलले भने, ‘धनुषाका प्रहरी उपरीक्षक र प्रदेश प्रहरी प्रमुखले समेत काउन्टर पार्टसँग सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउन छलफल गरिसकेका छन् ।’

सीमा नाकामा नेपाल र भारतको संयुक्त सुरक्षा गस्ती गर्नेदेखि नेपालका सीमामा बाक्लो गस्ती, विभिन्न स्थानमा ‘चेक प्वाइन्ट’ स्थापना गर्नुका साथै सीमा क्षेत्रमा शंकास्पद व्यक्तिलाई पक्राउ गर्ने लगायतको रणनीति अनुसार सुरक्षाकर्मी परिचालन भएको उनले बताए ।

मुख्यमन्त्री योगी मंसिर २६ गते बिहान ११ बजेतिर निजी विमान चार्टर गरेर जनकपुर विमानस्थलमा आउने र साँझ ५ बजेतिर फर्किने कार्यक्रम रहेको जिल्ला सुरक्षा समितिको बैठकमा कुरा उठेको एक सहभागीले लोकान्तरलाई बताए । 

विवाहपञ्चमी महोत्सवको तयारीका क्रममा २३ गते जिल्ला सुरक्षा समितिको बैठकमा सरोकारवाला निकाय, संघसंस्था, सरकारी कार्यालयका प्रमुख समेतलाई सहभागी गराइएको थियो ।

‘योगी भ्रमणको कार्यतालिका अहिलेसम्म संघीय सरकारबाट नआएपनि परराष्ट्रका पदाधिकारीमार्फत् भइरहेको कुराकानीका आधारमा उनी आउने लगभग तय नै छ । सोही अनुसार हामीले आफ्नो तयारी पनि गरेका छौं,’ सीडीओ कणेलले भने ।

उनी आएपछि जानकी मन्दिरको दर्शन गर्नुका साथै मुख्यमन्त्री लालबाबु राउतले मधेश भवनमा आयोजना गरेको दिवाभोज कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि रंगभूमि मैदानमा आयोजना हुने सीता स्वयम्बर कार्यक्रममा सहभागी भई सोही दिन नै फर्किएर जाने कार्यक्रम रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्