
जनकपुरधाम – सीताराम विवाहपञ्चमी महामहोत्सवमा नेपाली सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने भएको छ ।
मंसिर २६ गते जनकपुरधाममा आयोजना हुने सीता स्वयम्बरका क्रममा सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नेछ ।
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ स्वयम्बर कार्यक्रममा सहभागी भएको बेला नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्न लागेको जनाइएको छ ।
‘नेपाली सेनाले काठमाडौंबाट हेलिकप्टर ल्याएर पुष्पवृष्टि गर्नेछ,’ धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित गोरखनाथ गणका प्रमुख सेनानी भोला पाण्डेले लोकान्तरसँग भने, ‘हेलिकप्टर हाम्रै नेपाली सेनाको हुनेछ भने फूल जानकी मन्दिरले प्रदान गर्नेछ ।’
नेपाली सेनाको १५ सदस्यीय एउटा ब्याण्ड टोली समेत काठमाडौंबाट जनकपुरधाम आउँदैछ । २६ गते भगवान् राम र सीताको डोलीले नगर परिक्रमा गर्दा ब्याण्ड टोलीले सांस्कृतिक प्रदर्शन गर्ने जनाइएको छ ।
नेपाली सेनाले श्रद्धालु भक्तजनको सेवाका लागि नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वार्टर नम्बर २७ बाहिनीको टोलीले रंगभूमि मैदान बारह बिघामा पाल बनाएर आश्रयस्थल समेत निर्माण गरेको छ । प्रमुख सेनानी पाण्डेका अनुसार नेपाली सेनाको टोलीले आश्रयस्थल निर्माण गर्नुका साथै चियापान, हेल्पडेस्क, आकस्मिक स्वास्थ्य शिविर समेत सञ्चालन गर्नेछ ।