२४ जेठ २०८३, आइतबार

देउवाले समय मागेपछि संवैधानिक परिषद् बैठक फेरि स्थगित

मंसिर २६, २०७५
देउवाले समय मागेपछि संवैधानिक परिषद् बैठक फेरि स्थगित
फाइल तस्वीर

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको व्यस्तताका कारण सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्न बस्ने भनिएको संवैधानिक परिषद्को बैठक फेरि स्थगित भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार बिहान नौ बजेका लागि बोलाइएको बैठकमा अन्य सदस्यहरु उपस्थित भएपनि सभापति देउवाले आउन नसक्ने जानकारी गराएपछि बैठक स्थगित भएको हो ।

बैठक बिहीबार बिहान नौ बजे बस्ने तय भएको उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले लोकान्तरलाई जानकारी दिइन् । 

मंगलबार स्थगित भएर पुस ५ गतेलाई तय भएको बैठक आकस्मिकरुपमा आजका लागि डाकिएको थियो । भावी प्रधानन्यायाधीशको विषयलाई लिएर सहमति जुट्न नसक्दा परिषद्को बैठक चार पटक स्थगित भएको छ । 

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि  न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम संवैधानिक परिषदमा पठाएको  छ । यसअघि पनि सिफारिस भएका जोशीलाई संसदीय सुनुवाई समितिले अनुमोदन नगरेको र राणापनि विवादित पृष्ठभूमिका भनिएकाले परिषद्बाट नाम सिफारिस हुन सकस परेको छ । 

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले सो अगावै प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने बाध्यता छ । संवैधानिक परिषदबाट सिफारिस भएको व्यक्ति संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्