
काठमाडौं– विपिन कार्कीको अभिनय रहेको पछिल्लो चलचित्र ‘गोपी’को पोस्टर बुधबार सार्वजनिक गरिएको छ । सार्वजनिक चार पोस्टरमध्ये सबैमा विपिन फिचर्ड छन् । एउटा पोस्टरमा मात्र चलचित्रका दुई अभिनेत्री वर्षा राउत र सुरक्षा पन्तलाई समावेश गरिएको छ ।
आरोही केसीको लगानीमा दीपेन्द्र लामाद्वारा निर्देशित ‘गोपी’मा विपिनले गाई पाल्ने किसानको भूमिका निर्वाह गरेका छन् । पोस्टरमा उनको पेशा झल्किने गरी गाई र दूधको क्यानलाई प्राथमिकता दिइएको छ । चलचित्र आगामी माघ १८ गते रिलिज हुने तय भइसकेको छ । विपिनको सडक दुर्घटनाका कारण चलचित्रको पोस्टर निर्धारित समयभन्दा पछाडि सार्बजनिक गरिएको हो । विपिनलाई यसै हप्ता गाईफार्ममा लगेर फोटो सुट गरिएपछि मात्र पोस्टर तयार पार्न सकिएको निर्देशक लामाले बताए । उनले भने, ‘पोस्टरको कलर कम्बिनेसन र कलाकारहरुको भाव मलाई चित्त बुझेको छ ।’
आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रमा पटकथा सामिप्यराज तिमल्सिनाले लेखेका छन् । त्यस्तै कार्यकारी निर्मातामा श्रीधर पौडेल, छायाँकार शैलेन्द्र डि कार्की र सम्पादक निमेष श्रेष्ठ रहेका छन् । चलचित्रमा विप्लव प्रतीक र बुद्धिसागरले लेखेका गीतलाई न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले कम्पोज गरेका छन् । पाश्र्व संगीत रोहित शाक्यको सुन्न सकिन्छ ।
चलचित्रमा प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल, केशव राई लगायतको पनि अभिनय रहेको छ ।

