२५ असार २०८३, बिहीबार

प्रदेश सरकारले हवाई टिकटमा अनुदान दिने, प्रतिटिकट १ हजार रुपैयाँ

मंसिर २६, २०७५
प्रदेश सरकारले हवाई टिकटमा अनुदान दिने, प्रतिटिकट १ हजार रुपैयाँ

सुर्खेत – कर्णाली प्रदेश सरकारले हुम्ला र डोल्पाका ६० वर्षभन्दा बढी उमेर भएका र पूर्ण अपाङ्गता भएका नागरिकलाई हुम्ला र डोल्पाबाट हवाइजहाजमा यात्रा गर्दा प्रतिटिकट १ हजार रुपैयाँ अनुदान दिने भएको छ । 

सरकारले चालू आर्थिक वर्षमा हवाई टिकट अनुदान कार्यक्रमका लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बजेट विनियोजन भएपनि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कार्यान्वयन गर्न सकेको छैन ।

मन्त्रालयका सचिव धिरेन्द्र प्रधानले पूर्ण अपाङ्गता तथा ज्येष्ठ नागरिकका लागि हवाई सहुलियत सम्बन्धी कार्यविधि बनेका कारण अब पुस १ गतेदेखि नागरिकले सेवा पाउने भएको जानकारी दिए ।

उनका अनुसार हुम्ला र डोल्पा जिल्लाका पूर्ण अपाङ्गता र ज्येष्ठ नागरिकले हवाई सेवा प्रयोग गर्दा प्रतिटिकट १ हजार रुपैयाँ पाउने छन् ।

कार्यविधि अनुसार प्रदेश अन्तर्गतका हुम्ला र डोल्पा जिल्लाबाट प्रदेश राजधानी सुर्खेत र नेपालगञ्ज तथा प्रदेश राजधानी र नेपालगञ्जबाट हुम्ला र डोल्पा जिल्लामा उडान भर्ने हवाई रुटमा यात्रा गर्ने नागरिकलाई दिइने छ ।

नागरिकलाई दिइने अनुदान रकम डिभिजन वन कार्यालय डोल्पा, डिभिजन वन कार्यालय हुम्ला र प्रदेश वन निर्देशनालयबाट दिइने व्यवस्था गरिएको सचिव प्रधानले बताए ।

उनका अनुसार सहुलियत अनुदान लिनको लागि टिकट, नागरिकताको प्रमाणपत्र, ज्येष्ठ वा अपाङ्गता परिचयपत्रको प्रमाणपत्रका प्रतिलिपि सम्बन्धित कार्यालयमा बुझाउनु पर्नेछ ।

मन्त्री नन्दसिंह बुढाले सहुलियतले जनतालाई राहत दिने बताए । ‘हामीले यो कार्यक्रमको लागि भनेर चालू आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट विनियोजन गरेका छौं,’ उनले भने, ‘त्यो रकमबाट नै हामीले प्रतिटिकट १ हजार सहुलियत अनुदान दिनेछौं ।’ उनले मन्त्रालयले कार्यविधि बनाइसकेको र कार्यविधि पुस १ गतेबाट लागू हुने जानकारी दिए ।

कार्यक्रमको लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको भएपनि सबै बजेट खर्च नहुने बताए । ‘यो वर्षको ५ महिना बितिसकेको छ,’ उनले भने ‘अब ७ महिनामा बढीमा ३० लाख खर्च हुने मेरो अनुमान छ ।’ उनले हुम्ला र डोल्पाका नागरिकलाई सहुलियत लिन आह्वान समेत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्