
सुर्खेत–नेपालमा हुने अधिकांश चुनावमा दुई पार्टीबीच मतदान भई एकले जित्ने र अर्कोले हार्ने परम्परा छ ।
तर मंसिर २९ गते हुने सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचनमा भने नेपाली काँग्रेस निकटका दुई व्यवसायीबीच मतदान हुने पक्का भएको छ ।
वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेती संयुक्त व्यवसायी प्यानलबाट र अर्का उपाध्यक्ष धनबहादुर रावत लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदमा भिड्ने भएका हुन् ।
बुधबार भएको मनोनयन दर्तामा दुवैले प्यानल बनाएरै भिड्ने तयारी गरेका छन् ।
यही मंसिर २९ गते हुने सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचनमा २२ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ । बुधवार उम्मेदवारी मनोनयनको अवधिमा धनबहादुर रावतको प्यानल र प्रकाश उप्रेतीको प्यानलबाट गरी ४३ जनाको उम्मेदवारी परेको छ । यद्यपि उम्मेदवारहरुको अन्तिम नामावली भने विहीवार अपरान्ह ५ बजे प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।
रावतको लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा धनबहादुर रावत, बरिष्ठ उपाध्यक्षमा बासुदेव शर्मा, बाणिज्य उपाध्यक्षमा दीपेन्द्र ढकाल, उद्योग उपाध्यक्षमा हरि विष्ट, महिला उपाध्यक्षमा कृष्णाकुमार थापा, महासचिवमा लक्ष्मण कँडेल, सचिवमा रामप्रसाद पाण्डे र कोषाध्यक्षमा भद्र भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी सदस्यहरुमा जनकबहादुर थापा, प्रेमप्रसाद पाण्डे, रमेश बराल, रामप्रसाद जैसी (राजु पाण्डे), दीपक खड्का, अक्कलबहादुर शाही, कर्णबहादुर शाही, हविव हुसेन, प्रेमबहादुर थापा, कपिलमणि सुवेदी, भीमप्रसाद पौडेल, विन्द्रप्रसाद जैसी (विशाल), रोजिना कार्की र यामुना सापकोटाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी उप्रेतीको प्यानलबाट अध्यक्षमा प्रकाश उप्रेती, बरिष्ठ उपाध्यक्षमा हर्षविक्रम खड्का, बाणिज्य उपाध्यक्षमा प्रवल शाही, उद्योग उपाध्यक्षमा गणेशकुमार बस्नेत, महिला उपाध्यक्षमा बसन्तीकुमारी बस्नेत (एकता), महासचिवमा कलाधर उपाध्यक्ष (केदार), सचिवमा शिवराज अधिकारी र कोषाध्यक्षमा गोविन्द पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।
सदस्यहरुमा प्रेमबहादुर रावत, कृष्णप्रसाद सुवेदी, प्रकाशचन्द थापा, ऐवानबहादुर बुढा, लक्ष्मी कार्की (सिया प्रधान), टिकाकुमारी कँडेल, रेशमप्रसाद ढकाल, मदनबहादुर थापा, रामबहादुर गौतम, सिंहराज बम, तेजप्रसाद तिवारी, हरिकुमार श्रेष्ठ र लक्ष्मण खत्रीले उम्मेदवारी दर्ता गराएका छन् । धनबहादुर रावतको लोकतान्त्रिक प्यानल लाई कांग्रेसको पूर्ण समर्थन छभने प्रकाश उप्रेती प्यानलमा नेकपाको समर्थन छ ।
हामी आधिकारीक हौंः रावत
बुधबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै अध्यक्ष पदका प्रत्यासी रावतले आफूहरुलाई नेपाली काँग्रेस सुर्खेतका पार्टी सभापति कमलराज रेग्मी र सचिव टोपबहादुर विष्टको समर्थन रहेको दाबी गरेका छन् । उनले आफूहरुनै पार्टीको आधिकारिक प्यानल भएको बताए ।
उम्मेदवार रावतले सम्पूर्ण व्यवसायिक हितका लागि आफ्नो प्यानल क्रियाशील रहने बताएका छन् । उनले व्यवसायीहरुको लागि वीमाको पहल गर्नुका साथै पलायन तथा विस्थापित व्यवसायीहरुको लागि स्थापना गरिएको राहत कोषको रकम वृद्धि गरिने जनाएका छन् ।
उनले विगतदेखि आफूले सम्पूर्ण उद्योगी व्यवसायीहरुको हक हितका लागि क्रियाशील रहेको भन्दै आगामी दिनमा पनि थप प्रतिवद्ध रहने प्रतिवद्धता जनाएका छन् ।
उनले विगतमा जसरी संघलाई नचलाउने बताए । विगतमा संघ अध्यक्षमुखी भएको थियो । अध्यक्ष प्रकाश अधिकारीले अन्य संगठनलाई मिलाउन सकेनन् । जसका कारण संघ थला परेको छ । उनले भने, तर मेरो प्यानल विजयी भएको खण्डमा अन्य व्यवसायी मित्रलाई मिलाएर लैजाने प्रतिबद्धता जनाउँछु । उनले आफूले व्यवसायीको हितका लागि जस्तोसुकै कदम उठाउने बताए ।
व्यवसायीको समृद्धिका लागि उम्मेदवारीः उप्रेती
संयुक्त व्यवसायी संघका तर्फका अध्यक्ष पदका उम्मेदवार प्रकाश उप्रेतीले व्यवसायीको समृद्धिकालागि आफूहरुले उम्मेदवारी दिएको बताए ।
उनले अन्य दललाई पनि समेटेर संयुक्त संघ बनाउन अभ्यास गरिएको बताए । ‘यसअघि एक दलको प्रतिनिधित्व हुँदा हामीले संघ कस्तो अवस्थामा पुगेको थियो । थाहा पाइसकेका छौं’, उनले भने, तर अब त्यस्तो नहोस् । सबैको छाता संस्थाको रुपमा संघलाई स्थापित गर्न हामीले संयुक्त प्यानल बनाएका हौं ।’
उनले आफूहरुले सर्बसम्मत नेतृत्व चयन गरौं भनेर लामो समयसम्म प्रयास गरेको बताए । तर त्यसमा आफूहरु सफल नभएका कारण बाध्य भएर प्यानल बनाई चुनावमा होमिएको उनले बताए ।