२१ असार २०८३, आइतबार

सात प्रदेशका १३ अस्पतालमा गर्भवतीलाई निःशुल्क सेवा

मंसिर २७, २०७५
सात प्रदेशका १३ अस्पतालमा गर्भवतीलाई निःशुल्क सेवा
सन्दर्भ तस्वीर

काठमाडौं– सरकारले आपतकालीन अवस्थामा उद्धार गरिएको गर्भवती वा सुत्केरीलाई तत्काल स्वास्थ्य सेवा प्रदान गर्न सातै प्रदेशमा रहेका १३ सरकारी अस्पताललाई तोकिएको छ । विभिन्न स्थानबाट उद्धार गरिएका गर्भवती वा सुत्केरीलाई सम्बन्धित प्रदेशभित्रका सरकारी अस्पतालमा उपचार सेवा निःशुल्क गरिएको हो । 

उद्धार गरिएका गर्भवती वा सुत्केरीको उपचारका लागि प्रदेश नं १ को मोरङको विराटनगरस्थित कोशी अञ्चल अस्पताल, प्रदेश नं २ को सप्तरीको राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल, धनुषाको जनकपुरस्थित जनकपुर अञ्चल अस्पताल र पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताललाई तोकिएको छ ।

प्रदेश नं ३ का लागि काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, चितवनको भरतपुरस्थित भरतपुर अस्पताल, गण्डकी प्रदेशको कास्कीको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई तोकिएको छ । यस्तै प्रदेश नं ५ को रुपन्देहीस्थित लुम्बिनी अञ्चल अस्पताल, दाङस्थित राप्ती उपक्षेत्रीय अस्पताल र बाँकेस्थित भेरी अञ्चल अस्पताल, कर्णाली प्रदेशका लागि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेतस्थित मध्यपश्चिम क्षेत्रीय अस्पताल तथा सुदूरपश्चिम प्रदेशका लागि कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पताललाई तोकिएको छ । 

हेलिकोप्टर अवतरण भएको स्थानबाट अस्पतालसम्म ल्याउनका लागि तोकिएका अस्पतालले एम्बुलेन्स सेवा उपलब्ध गराउनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्