
काठमाडौं– नेपालको भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम सिफारिस भएको छ ।
बिहीवार बसेको संवैधानिक परिषदको बैठकले न्यायाधीश चोलेन्द्रको नाम सर्वोच्च अदालतको २९औं प्रधानन्यायाधीशका लागि सिफारिस गरेको उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले जानकारी दिइन् ।
न्याय परिषद्लेे भावी प्रधानन्यायाधीशका लागि न्यायाधीश जबरा र दीपकराज जोशीको नाम संवैधानिक परिषदमा सिफारिस गरेको थियो ।
जोशी यसअघि २८ औं प्रधानन्यायाधीशका लागि संसदीय समितिबाट अयोग्य ठहर भएकाले संवैधानिक परिषदले जबराको नाम भावी प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो ।
को हुन् जबरा ?
काठमाडौंका स्थायी बासिन्दा जबरा २८ मंसिर २०१४ मा जन्मिएका हुन् । २०३६ सालदेखि २०५२ सालसम्म कानून व्यवसायीको रुपमा सक्रिय रहेका जबरा ३ वैशाख २०५३ मा पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।
उनले केही वर्ष विशेष अदालतको न्यायाधीशका रुपमा समेत न्याय सम्पादन कार्य गरे ।
२०७१ जेठमा सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका जबराविरुद्ध संसदीय सुनुवाई समितिका सदस्यलाई नै २ करोड रुपैयाँ घुस दिएको उजुरी परेको थियो । संसदीय सुनुवाईका क्रममा तत्कालीन संसदीय सुनुवाई विशेष समितिका सदस्यले सांसदलाई नै घुस दिएको विषयबारे प्रश्न गरेका थिए ।
जबरा पुनरावेदन अदालत विराटनगरको न्यायाधीश हुँदा गरेको एक फैसलाका कारण पनि विवादमा परेका थिए । पुनरावेदन अदालत विराटनगरका अर्का न्यायाधीश श्यामबहादुर प्रधानसहितको इजलाशबाट ११ साउन २०५८ मा जबराले तासको म्यारिज खेललाई जुवा भन्न नमिल्ने भन्दै फैसला सुनाएका थिए ।
१३ जेठ २०७१ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका जबरा प्रधानन्यायाधीशमा नियुक्त भए २८ मंसिर २०७९ सम्म पदमा रहनेछन् ।
संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका जबरा संसदीय सुनुवाईबाट स्वीकृत भएमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् ।